सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

मुगुबाट फापर, सिमीसहित चार करोड रूपैयाँबराबरको खाद्यवस्तु अन्य जिल्लामा बिक्री

मंगलबार, साउन १३ २०८२
मुगुबाट फापर, सिमीसहित चार करोड रूपैयाँबराबरको खाद्यवस्तु अन्य जिल्लामा बिक्री

जिल्लाबाट सिमीमात्रै ७४ मेट्रिकटन बिक्री भएको छ। चालु आवमा ८० मेट्रिकटन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको छ।

मुगु- गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट चार करोड रूपैयाँबराबरको खाद्यवस्तु (चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौ) अन्य जिल्लामा बिक्री भएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेजविक्रम मल्लका अनुसार  गत आवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्यवस्तु सो रकमबराबर जिल्लाबाहिर बिक्री भएको हो। 

सो कार्यक्रमले जिल्लालाई सिमी जोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ। साथै कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ।

जिल्लाबाट ७४ मेट्रिकटन सिमी बिक्री भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चार लाख ९० हजार रूपैयाँ ढुवानी अनुदान दिएको थियो।

त्यसैगरी, दुईसय ३० मेट्रिकटन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, काउनो, कोदो, फापर अर्गानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ। यी बालीको स्थानीय गाउँघरको मूल्य दुई करोड सात लाख रूपैयाँ हुन आउँछ।

निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो। चालु आवमा सिमी ढुवानी अनुदानका लागि पाँच लाख रूपैयाँ र अन्य बाली ढुवानी अनुदानका लागि तीन लाख रूपैयाँ विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए।

चालु आवमा ८० मेट्रिकटन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख मल्लले जानकारी गराए।

जिल्लाका किसानले परम्परागत अन्नबाली चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौ पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ। बजारसम्म पुर्‍याउने यातायातका साधन नपाउदा, बजार  थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै आएका छन्।

सरकारले बजारीकरणको खोजी र ढुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आथिक विकासमा परम्परागत बालीले राम्रो स्थान लिने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, साउन १३ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend