शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फलफूल, तरकारी र मसालाबाली खेती गर्ने किसानलाई गण्डकी प्रदेशमा २ करोड १२ लाख अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १३ २०८२
फलफूल, तरकारी र मसालाबाली खेती गर्ने किसानलाई गण्डकी प्रदेशमा २ करोड १२ लाख अनुदान

फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सात लाख २० हजार र मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धन आयोजनामार्फत पाँच लाख ९८ हजार अनुदान वितरण गरिएको छ।

म्याग्दी- फलफूल, तरकारी, खाद्य र मसालाबाली खेती गरेका किसानलाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१ /८२ मा दुई करोड १२ लाख ९५ हजार रुपैयाँ अनुदान वितरण गरेको छ।

कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको म्याग्दी कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले विभिन्न १२ अनुदानका कार्यक्रमका लागि दुई करोड ४७ लाख ४० हजार विनियोजन भएकामा ८६ प्रतिशत खर्च भएको जानकारी दिए। 

'प्रदेश सरकारको कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत आवेदन संकलन, स्थलगत निरीक्षण, मूल्यांकन र छनोट भएका समूह, सहकारी तथा फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वनय भएको हो', उनले भने, 'कार्यक्रमअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराएका छौँ।'

गत वर्षका योजना तथा कार्यक्रमबाट ८१ वटा मिनीटिलर खरिद, १० कुटानी पिसानी मिल, ८२ थान स्प्रेयर, सातवटा ब्रस कटर, २९ हजार १५० मिटर पाइप, ५३ वटा हिलट्याङक, छ सय मिटर सिँचाइ कुलो निर्माण र १६ सिँचाइ पोखरी निर्माण भएका छन्। 

सबैभन्दा बढी एक करोड २० लाख बजेट भएको समुदायस्तरमा खायन आलु प्रवर्द्धन आयोजनामार्फत एक हजार २५० रोपनी क्षेत्रफलमा आलुखेती गरेका सात सय ९३ जना किसान आबद्ध ३० वटा सहकारी र समूहलाई यान्त्रिकीकरण, साना सिँचाइ पूर्वाधार, बीउ, मलका लागि ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको छ। 

सुन्तलाजात फलफूल विकास आयोजनामार्फत तीन सय ७० रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण र ४० रोपनीमा सुन्तला बगैँचा विस्तार गरेका ४३ वटा समूह, सहकारी र फार्मले प्रविधि, पूर्वाधार, विषादी र औजार खरिदका लागि ४७ लाख १४ हजार अनुदान पाएका छन्।

तरकारी बाली आयोजनामार्फत आठ लाख ६६ हजार, खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रमबाट नौ लाख ९२ हजार, फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रममार्फत ६ लाख ६३ हजार, फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सात लाख २० हजार र मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धन आयोजनामार्फत पाँच लाख ९८ हजार अनुदान वितरण गरिएको छ। 

परम्परागत बालीको प्रशोधन तथा बजारीकरण प्रवर्द्धन कार्यक्रमबाट सात लाख ६१ हजार, परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमबाट नौ लाख २८ हजार, ग्रामीण पोषण सुरक्षण कार्यक्रममार्फत १७ लाख ८६ हजार र जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रममार्फत चार लाख ९८ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रले सञ्चालन गरेका विभिन्न प्राविधिक तालिममा नौ सय ९९ सहभागी भएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन १३ २०८२१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend