सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

आयस्तरमा सुधार भएपछि नेपालका लागि ऋणको ब्याजदर बढायो विश्व बैंकले

सोमबार, साउन १२ २०८२
आयस्तरमा सुधार भएपछि नेपालका लागि ऋणको ब्याजदर बढायो विश्व बैंकले

कूल वैदेशिक ऋणमा विश्व बैंक र एडीबीकै हिस्सा ८० प्रतिशतभन्दा धेरै रहेको छ।

काठमाडौं- नेपालको सबैभन्दा ठूलो दातृ निकाय विश्व बैंकले नेपालका लागि ऋणको ब्याजदर बढाएको छ। यही महिनादेखि लागू हुनेगरी विश्व बैंकले ऋणको ब्याजदर बढाएको हो। 

नेपालको प्रतिव्यक्ति आम्दानीमा लगातार तीन वर्ष सुधार भएपछि बैंकले नेपालका लागि ऋणको ब्याजदर बढाएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अन्तर्राष्ट्रिय सम्बन्ध समुन्वय महाशाखा प्रमुख धनिराम शर्माका अनुसार यही महिनादेखि विश्व बैंकले ऋणको ब्याजदरसँगै परिपक्क अवधि पनि कसिलो बनाएको छ। 

यसअघि ०.७५ प्रतिशत रहेको ब्याजदरलाई विश्व बैंकले अबदेखि १.५ प्रतिशत बनाइदिएको छ। त्यस्तै ऋणको परिपक्क अवधि पनि ३० वर्षमा झारिदिएको छ। यअसघि ४० वर्षसम्मको अवधिको ऋणको सहुलियत सुविधा पाएको नेपालका लागि अबदेखि ३० वर्षमै भुक्तानी गर्नुपर्ने हुन्छ। 

नेपालमा अहिले पनि करिब ४ खर्बको सक्रिय पोर्टफोलिय रहेको विश्व बैंकले ऋणको ब्याज बढाएसँगै सार्वजनिक विकासको लागत बढेको छ। अधिकांस पुँजीगत परियोजनाको लगानी विदेशी ऋण र त्यसमा पनि विश्व बैंक मुख्य ऋणदाता हो। कुल वैदेशिक ऋणमा विश्व बैंक र एडीबीकै हिस्सा ८० प्रतिशतभन्दा धेरै रहेको छ। 

विश्व बैंकले ‍निश्चित आयस्तर सुधार भएपछि ऋणको ब्याजदर बढाइदिन्छ। आईडा वन्ली वर्गको ऋण यसअघि नेपालले पाउँदै आएको थियो। जो १४३५ अमेरिकी डलर प्रतिव्यक्ति आयभन्दा मूनी भएका मुलुकले यस्तो सुविधा पाउँछन्। सबैभन्दा गरिब मुलुकको वर्गमा नेपालले यस्तो सुविधा पाउँदै आएको थियो। तर कुनै पनि एउटा कटअफ जस्तो यो वर्षको १३३५ अमेरिकी डलरभन्दा बढी आय लगातार तीन वर्षमा भएमा त्यस्तो मुलुकले आईडा ब्लेन्ड वर्गको ऋण पाउँछ। नेपालको प्रतिव्यक्ति आय कटअफभन्दा लगातार तीन वर्ष उच्च भएपछि विश्व बैंक समूहले नेपालको ब्याज बढाइदिएको हो। 

अबदेखि नेपालले आईडा ब्लेण्ड वर्गको ऋण सुविधा पाउनेछ। यसमा सहुलियतसँगै महंगो ऋण पनि परिचालन गर्नुपर्ने हुन्छ। अबदेखि नेपालले आईबीआरडी वर्गको ऋण पनि पाउँछ। यस्तो ऋण पाउने मुलुकमा आर्थिक स्थायित्व र संरचनागत बलियोपनको सन्देश जाने भएकाले विदेशी लगानीकर्तामा राम्रो सन्देश जाने हुन्छ। यद्यपि यो बजारको जोखिममा रिहेर प्रवाह हुने ऋण भएकाले लागत महंगो पर्न जान्छ। 


प्रकाशित : सोमबार, साउन १२ २०८२१७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend