सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

'नाइमा नेपाल मोबिलिटी एक्स्पो'मा ३५ वटा नयाँ सवारीसाधन लन्च हुँदै

सोमबार, साउन १२ २०८२
'नाइमा नेपाल मोबिलिटी एक्स्पो'मा ३५ वटा नयाँ सवारीसाधन लन्च हुँदै

साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्।

काठमाडौं- नेपालकै ठूलो प्रदर्शनी मानिएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा ३५ वटा नयाँ सवारीसाधन लन्च हुने भएको छ। प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्वजनिक गर्ने तयारी छ।

नेपाल अटोमोबाइल इम्पोर्टस् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजना गर्न लागिएको एक्स्पोबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्वजनिक हुने, विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी दिए।

साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्।

यसबाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ।

यो प्रतियोगितामा साउन २१ सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्चालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र साउन २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नाइमा अध्यक्ष रितुसिंह वैद्यले 'नाइमा मोबिलिटी एक्स्पो' नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन्। साथै, प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि उनले जानकारी दिइन्।

एक्स्पोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिपहरु प्रदान गरिने आयोजकले जनाएको छ। प्रदर्शनीको टिकट खल्ती बाई आईएमईबाट खरिद गर्न सकिने व्यवस्था छ। 


प्रकाशित : सोमबार, साउन १२ २०८२१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend