शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुक्खाग्रस्त क्षेत्रका लागि उपयुक्त हुने प्रविधि सिफारिस गर्दै नार्क, विज्ञसँग गर्‍यो छलफल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १२ २०८२
सुक्खाग्रस्त क्षेत्रका लागि उपयुक्त हुने प्रविधि सिफारिस गर्दै नार्क, विज्ञसँग गर्‍यो छलफल

कार्यक्रममा विज्ञहरुले सिञ्चित, असिञ्चित जग्गाका लागि साउनभित्र पानी परेको वा नपरेको अवस्थामा अवलम्बन गर्न सकिने बीउबिजन, प्रविधि, रोप्ने छर्ने विधिबारे विस्तृत छलफल गरेका थिए।

काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सुक्खाग्रस्त क्षेत्रको लागि उपयुक्त प्रविधिको प्याकेज तयार गरी सिफारिस गर्ने भएको छ।

सुक्खाग्रस्त मधेशको संकट व्यवस्थापनबारे नार्कले सोमबार विज्ञहरू छलफल गरेको हो। जसमा छिटै सुक्खाग्रस्त क्षेत्रको लागि उपयुक्त प्रविधिको प्याकेज तयार गरी सिफारिस गर्ने जनाइएको छ। 

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले वर्तमान प्राकृतिक संकटको समाधानमा नार्कको भूमिका र नार्कले तय गर्ने धारणा महत्वपूर्ण हुने बताए। 

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा यादवले सुक्खाग्रस्त मधेशको धान रोपाइँको वर्तमान अवस्थाबारे जानकारी गराए। 

कार्यक्रममा वातावरणविद् रामेश्वर रिमालले हालको मौसम र त्यसको वातावरणीय प्रभावबारे चर्चा गरे। 

कार्यक्रममा विज्ञहरुले सिञ्चित, असिञ्चित जग्गाका लागि साउनभित्र पानी परेको वा नपरेको अवस्थामा अवलम्बन गर्न सकिने बीउबिजन, प्रविधि, रोप्ने छर्ने विधिबारे विस्तृत छलफल गरेका थिए। ती प्रविधिहरुमध्ये साउनको अन्तिमसम्म पानी परेको अवस्थामा के गर्ने, हाल भएको बेर्नालाई कसरी जोगाउने र पानी परेको खण्डमा कहिलेसम्म कस्ता जात र बाली रोप्न सकिने जस्ता विविध विकल्पमा छलफल भएको थियो। 

कार्यक्रममा पशुपक्षी तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, बाली तथा बागवानी निर्देशक बिनेशमान साखः, निवृत्त वरिष्ठ वैज्ञानिक एवम् बाली विज्ञ आनन्दकुमार गौतम, निवृत्त धानबाली विज्ञ डा. शम्भुप्रसाद खतिवडा, निवृत्त वरिष्ठ वैज्ञानिक एवम् बाली विज्ञ ध्रुवबहादुर थापा, बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. हिमाल तिमिल्सिना, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख सुरज वैद्य, बागवानी विज्ञ डा. रञ्जना रावल, वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाह, वैज्ञानिक राजेन्द्र भट्टराई, कार्यकारी निर्देशकको सचिवालयका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल, प्राविधिक अधिकृत रबिन गिरीलगायतको सहभागिता थियो।


प्रकाशित : सोमबार, साउन १२ २०८२१६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend