सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

साउन महिनामा आधाले घट्यो माछामासुको व्यापार

सोमबार, साउन १२ २०८२
साउन महिनामा आधाले घट्यो माछामासुको व्यापार
फाइल तस्बिर

अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ।

काठमाडौं- साउनमा माछामासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन्। विगत २० वर्षदेखि कलंकीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ।

'अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ', उनले भने, 'सोमबार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ।'

महर्जनले विगत २० वर्षदेखि खसी र कुखुरा मासुको व्यापार गर्दै आएका छन्। गतका वर्षमा पनि साउन महिना लागेपछि माछामासुको व्यापार कमी हुने गरेको थियो। यसवर्ष भने अझै व्यापारमा कमी आएको उनले अनुभव सुनाए। 

साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ। यस महिनामा व्रत बस्ने र माछामासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो। अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ। उनी भन्छन्, 'अहिले पसल सुनसान छ।'

कलंकीको अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले मासुको व्यापारमा विरावट आएको गुनासो गरे। असार महिनासम्म दैनिक ३० किलोसम्म मासु बेच्ने गरेका रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाए।

हाल राजधानीका करिब तीन हजारको सङ्ख्यामा मासु व्यवसायी छन्। करिब एक हजारको सङ्ख्यामा सानाठूला पशुवधस्थल छन्। सानाठूला गरी राँगाभैँसीका करिब २५० वधस्थल छन्।

पछिल्लो समय कामपामा मापदण्डबमोजिम दर्ता नगरी माछामासु व्यवसाय सञ्चालन गर्नेहरूको हाबी रहेको कामपाको वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले जानकारी दिए। यसलाई थप व्यवस्थापन गर्नका लागि कामपाले नियमितरूपमा अनुगमन गरिरहेको उनको भनाइ छ। माछामासु व्यवसाय गर्नेहरू धेरैलाई यो व्यवसाय कसरी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ।

'बाह्रदेखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्नेजस्ता विषय सामान्य ज्ञान नहुनुको परिणाम हो', झाले भने। रासस


प्रकाशित : सोमबार, साउन १२ २०८२१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend