सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सिन्धुपाल्चोकसहित देशका पहाडी क्षेत्रमा भारी वर्षा

सोमबार, साउन १२ २०८२
सिन्धुपाल्चोकसहित देशका पहाडी क्षेत्रमा भारी वर्षा

देशका पहाडी र हिमाली क्षेत्रहरूमा भारी वर्षा भइरहेका बेला तराईमा भने वर्षा नहुँदा पानीको हाहाकार देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घन्टामा विशेष गरी सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, गण्डकी क्षेत्र र पूर्वी पहाडी जिल्लामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।

काठमाडौं- देशका पहाडी र हिमाली क्षेत्रहरूमा भारी वर्षा भइरहेका बेला तराईमा भने वर्षा नहुँदा पानीको हाहाकार देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घन्टामा विशेष गरी सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, गण्डकी क्षेत्र र पूर्वी पहाडी जिल्लामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।

सिन्धुपाल्चोकको नुर्पु गाउँमा सबैभन्दा धेरै १२३.४ मिलिमिटर वर्षा भएको छ। भोटाङमा ६४.८, मेलम्चीमा ५५.६, तार्केघ्याङमा ५८.४, ढुंगमेमा ५०.८ र बोल्डेमा ४९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि गएरातिदेखि वर्षा भइरहेको छ। पानीपोखरीमा ६५, कपनमा ३६ र सुन्दरीजलमा ३० मिलिमिटर वर्षा मापन गरिएको छ। नुवाकोटको ककनीमा ६२.२ र पानसय खोलामा ८५.८ मिलिमिटर वर्षा भएको छ।

पूर्वी पहाडी जिल्लाहरू इलामको हिमाली गाउँमा ६४, कन्याममा ५८, माइपोखरीमा ५० र जितपुरमा ४३.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

गण्डकी प्रदेशमा लमजुङको घरेढुंगामा ६३.२ र कास्कीको लामापाटनमा ५१.४ मिलिमिटर वर्षा भएको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा पनि लगातार वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर, मध्यम र पश्चिमी तराईका भूभागमा भने वर्षा भएको छैन। पूर्वी तराईका केही स्थानमा मात्र छिटपुट वर्षा मापन गरिएको छ। वर्षा नहुँदा मधेस प्रदेशमा पानीको संकट चुलिएको छ। सरकारले मधेस प्रदेशका ८ जिल्लालाई पहिले नै संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

वर्षा नहुँदा धान रोपाइँमा समेत असर परेको छ। मौसमविद्हरूका अनुसार मनसुन सक्रिय रहे पनि तराईतर्फ पर्याप्त वर्षा नहुनु चिन्ताको विषय हो। जलस्रोतमा भर पर्ने कृषि प्रणाली भएकाले चाँडै पानी नपरेमा उत्पादनमा गम्भीर असर पर्न सक्ने कृषि विज्ञहरूले बताएका छन्। 


प्रकाशित : सोमबार, साउन १२ २०८२०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend