सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लागौँ : मन्त्री खड्का

आइतबार, साउन ११ २०८२
जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लागौँ : मन्त्री खड्का

ऊर्जामन्त्री दीपक खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताएका छन्।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सबै मिलेर उपलब्ध स्रोतको उपयोग गर्न लाग्नुपर्ने बताएका हुन्।

मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताए।

मन्त्री खड्काले द्वन्द्वको समयमा नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासंघले खेलेको भूमिका सराहनीय रहेको भन्दै समुदायबाट सञ्चालन गर्न नसकिएका सामुदायिक विद्युत् योजनालाई प्राधिकरणलाई जिम्मेवारी लगाउँदै जानुपर्ने धारणा राखे।

पूर्वऊर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासंघले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए।

महासंघका अध्यक्ष नारायण ज्ञवालीले देशभरका तीन सयभन्दा बढी सामुदायिक संस्थाहरूमार्फत महासंघले करिब छ लाख घरमा विद्युतको पहुँच विस्तार गरेको जानकारी दिए। करिब दुई अर्ब रूपैयाँ समुदायबाट संकलन गरी विद्युत् संरचना निर्माणमा महासंघले काम गरेको उनको भनाइ थियो।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमार्फत विशेष योगदान पुर्‍याएको भन्दै विभिन्न संस्था र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend