सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बीमा गर्ने

आइतबार, साउन ११ २०८२
दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बीमा गर्ने

लमजुङ- दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क बीमा गर्न सुरु गरेको छ।

दोर्दी गाउँपालिकाले पालिकाको वडा नं ४ नौथर सेरामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको हो। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं १ भारतेका प्रेमबहादुर गुरुङलाई स्वास्थ्य बीमा कार्ड उपलब्ध गराएर बीमाको शुभारम्भ गरेका हुन्।

पालिका नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र बीमाबाट धेरै स्वास्थ्य सेवा पाउन र नागरिकलाई राहत हुने भएकाले पालिकाभित्र रहेका सबै नागरिकको पालिकाले निःशुल्क बीमा गर्न लागेको र आजदेखि सुरु भएको उनको भनाइ छ। 

आज नै वडा नं १ देखि ४ वडासम्म शुभारम्भ कार्य गर्ने र अन्य वडामा क्रमशः गर्दै जाने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामै चुलो बाली स्थायीरूपमा बसोबास गरिरहेका सबै घरपरिवारको स्वास्थ्य बीमा गर्ने बताए।

यसका लागि ‘जलविद्युत्को आम्दानी-स्वास्थ्य बीमामा लगानी’ नाराका साथ बीमा गर्ने कार्य अघि बढेको छ।

दोर्दी गाउँपालिकामा हाल पाँच वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। दोर्दी गाउँपालिकाभित्र चार हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न एक करोड ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए।

लमजुङमा विसं २०७७ माघ महिनाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू भए पनि बीमा नगरेका दोर्दीका स्थानीय लाभान्वित हुने भएका छन्।

यस पालिकाभित्र पिपुल हाइड्रोपावर कम्पनीको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला, लिवर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला कम्पनीको १२ दशमलव १ क्षमताको दोर्दी १, छ्याङ्दीखोला हाइड्रोपावर कम्पनीको चार ४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरेका छन्। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend