शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा, वार्षिक चार करोडसम्मको कारोबार

आइतबार, साउन ११ २०८२
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा, वार्षिक चार करोडसम्मको कारोबार

बुबाले अपनाएको स्याउखेतीको विरासतलाई पछ्याउँदै निकै संघर्ष र मेहनत गरी अहिलेको स्थानसम्म आइपुगेको किसान कर्म गुरुङको भनाइ छ।

मुस्ताङ- मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ-५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ। गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुर्ख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागि परेका छन्।

झन्डै ६ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुवात गरेको थियो। त्यसबेला उनको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए। उनी १३ वर्षको हुँदा बुबा बिते। त्यसपछि बुबाको कृषिकर्मको जिम्मेवारी उनको काँधमा थपियो। गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ/दिदीबहिनी सदस्य छिन्नभिन्न भए। बाल्यकालदेखि नै कृषिकर्मलाई पछ्याएका गुरुङले सगोलले अलपत्र पारेको कृषि फार्मको सबै बागडोर आफैले सम्हाले।

गुरुङले सम्हाल्दै आइरहेको त्यतिबेलाको स्याउ फार्म परम्परागत पद्धतिको थियो। आफ्ना बुबाको प्रेरणाबाट स्याउखेतीमा लागेका गुरुङले वर्तमानमा पनि पहिलेको परम्परागत स्याउखेतीसँगै स्याउखेतीमा नयाँ प्रविधि भित्र्याइसकेका छन्। सानै उमेरदेखि स्याउखेतीलाई निरन्तर पछ्याउँदै आएका गुरुङ व्यावसायिक स्याउखेतीतर्फ ५० वर्षको यात्रा पूरा गरिसकेको बताउँछन्। मुस्ताङमा अहिलेको जस्तो त्यो समय सडक, बिजुली, इन्टरनेट कुनै पनि सुविधा थिएनन्, यद्यपि उनले चिम्ले कृषि फार्मलाई विषम परिस्थितिसँग जुध्दै अहिलेको अवस्थामा ल्याइपुर्‍याउन सफल भए।

गुरुङ भन्छन्, 'बुबाको पालामा स्याउखेती गर्न अहिलेको जस्तो सहज थिएन, प्रविधिको विकास भएको थिएन, सबै काम हातैले गर्नुपर्थ्यो, अहिले त विगतको भन्दा स्याउखेती प्रणालीमा आकाशजमिन फरक भइसक्यो।' यहाँ सडक सञ्जाल नहुँदा उत्पादन हुने स्याउ नबिकेर पशुचौपायालाई खुवाउनुपर्ने र कति स्याउ त बोटमै कुहिएर झर्ने गरेको गुरुङले स्मरण गरे।

त्यसबेला उत्पादन गरिएको स्याउ प्रतिकिलो दुई रूपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गरेको गुरुङले सुनाए। उनले विगत सम्झिँदै भने, 'यहाँको स्याउ बजार पुर्‍याउन घोडा, खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपर्थ्यो, स्याउ बेचेर फाइदा लिन पनि त्यसबेला किसानलाई निकै गाह्रो हुने गर्थ्यो।'

कृषक गुरुङ अहिले ६१ वर्ष भए। उनको जोशजाँगर र इच्छाशक्ति भर्खरको तन्नेरीजस्तै छ। 'चाहेको भए म युरोप, अमेरिका जान सक्थेँ', गुरुङले भने, 'यहीँको माटो खोस्रिएर परिश्रम र मेहनत गर्ने हुटहुटी बाल्यकालबाटै चल्यो, स्वदेशममा पनि विदेशमा जस्तै मनग्य अर्थोपार्जन गर्न सकिन्छ भन्ने लागेर यही कृषि व्यवसाय सक्रिय भइरहेको छु, मुस्ताङकै हावापानीमा रम्दै पुर्ख्यौली स्याउखेतीलाई जीवन्त तुल्याइरहेको छु।'

गुरुङ अहिले मुस्ताङका स्याउ किसानमध्ये अब्बल किसानका रूपमा परिचित छन्। दुई वर्षअघि उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन्। जिल्ला र राष्ट्रियस्तरमा स्याउखेतीमा उत्कृष्ट पहिचान बनाउँदै आएका गुरुङ स्याउखेतीमा पाएको सफलतामा बुबाकै योगदान रहेको बताउँछन्। बुबाले अपनाएको स्याउखेतीको विरासतलाई पछ्याउँदै निकै संघर्ष र मेहनत गरी अहिलेको स्थानसम्म आइपुगेको गुरुङको भनाइ छ। स्याउखेतीतर्फ प्राप्त गरेको यस प्रकारको सफलताले कुनै युद्ध जितेको जस्तै अनुभूति हुने गरेको बताए।

गुरुङको पुर्ख्यौली परम्परागत स्याउखेती छँदै थियो। तर, त्यसमा सोचेजस्तो आम्दानी लिन निकै मुस्किल पर्थ्यो। विसं २०७५ अघिसम्म परम्परागत स्याउखेती गर्दै आइरहेका गुरुङले अहिले बृहत् रूपमा उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउखेतीलाई अघि बढाइरहेका छन्।

जतिबेला मनाङमा एग्रो मनाङले हाइब्रिड स्याउखेतीको नमूना परीक्षण सुरु गरेको थियो। त्यहाँको हाइब्रिड स्याउखेती सुरु गरिएको समाचार थाहा पाएपछि एग्रो फार्ममा पुगेर हाइब्रिड खेतीबारे बुझे। त्यहाँबाट फुजी जातको तीनसय हाइब्रिड स्याउका बिरुवा ल्याएर मुस्ताङको आपनो बगैँचामा रोपे।

गुरुङले रोपेको नयाँ प्रविधिको हाइब्रिड स्याउ निकै राम्रोसँग सप्रियो। त्यसपछि गुरुङले उत्साहित हुँदै झनै हाइब्रिड जातका स्याउ बिरुवा थप्दै बृहतरूपमा हाइब्रिड स्याउखेती विस्तार गरे। गुरुङले यसवर्ष पनि झन्डै पाँच हजार बढी हाइब्रिड स्याउका बिरुवा रोप्ने तयारी गरेको बताउँछन्।

हाइब्रिड स्याउको परीक्षण राम्रो भएपछि मुस्ताङका अन्य किसानले पनि पछ्याइरहेको गुरुङ बताउँछन्। स्याउखेतीका लागि उचित व्यवस्थापन र मलजल गर्न सकेमा राम्रो कमाइ गर्न सकिने उनले उल्लेख गरे। गुरुङले स्याउका लागि निजी जग्गा झन्डै तीनसय रोपनी र अन्य दुईसय रोपनी जग्गा आफन्त, इष्टमित्र र संस्थागत तहमा लिज सम्झौता गरी स्याउखेती विस्तार गरेको जानकारी दिए।

उनले आधा जग्गामा परम्परागत स्याउखेती र बाँकी आधा जग्गामा हाइब्रिड स्याउखेती गरेका छन्। गत वर्षसम्म चारसय मेट्रिकटन स्याउ उत्पादन गरेका गुरुङले यो वर्ष पाँचसय मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका छन्। गुरुङले गतवर्ष तीन करोड रूपैयाँको स्याउ बिक्री गरेको बताए।

कृषक गुरुङको स्याउ फार्मले २५ जनालाई स्थायी र करिब ९० जनाभन्दा बढीले अल्पकालीन रोजगारी दिएको छ। स्याउखेतीलाई भनेर किसान गुरुङले पाँच सयभन्दा बढी च्यांग्रा, १० वटा घोडा, नौवटा जर्सीगाई र स्याउ बगैँचामा मौरीपालन गरेका छन्। पालन गरिएका पशुचौपायाको मलमूत्रलाई प्रशोधन गरी स्याउखेतीका लागि मलको रूपमा प्रयोग गरेका छन्। मलका लागि पालिएका च्यांग्राबाट पाठपाठी उत्पादन गर्ने र मासुका लागि बिक्री गरेका छन्।

च्यांग्रापालनबाट पनि राम्रै आम्दानी हुने गरेको गुरुङ बताउँछन् जर्सीगाईबाट मासिक दुई लाख रूपैयाँ आम्दानी हुने गरेको गुरुङले उल्लेख गरे। 'अब जर्सीगाईको सङ्ख्या ५० पुर्‍याउने योजना छ, डेरी उद्योग पनि खोल्ने सोचमा छु', उनले भने, 'मौरीको घारबाट पनि मह उत्पादन गरेर बिक्री गर्ने गरेको छु।'

स्याउखेतीबाट वार्षिक तीन-चार करोड रूपैयाँको कारोबार हुने किसान गुरुङले बताए। स्याउखेतीमा जनशक्ति र स्याउ बगैँचा व्यवस्थापनलगायतमा पनि उत्तिकै खर्च हुने गरेको गुरुङको भनाइ छ। बर्सेनि स्याउखेतीमा जति कमाइ हुन्छ सबै पैसा स्याउखेतीमै लगानी गर्दै आइरहेको किसानले गुरुङले स्पष्ट पारे। 'अहिले जति कमाई हुन्छ, स्याउमै खर्च गरेको छु', उनले थपे, 'अबको पाँच वर्षपछि भने स्याउ बिक्री गरेको आम्दानीलाई बचत गर्नेतर्फ लैजाने छु।'

गुरुङले स्याउ बगैँचाका कमसल स्याउ र बोटबाट झरेका स्याउलाई सुकुटी बनाएर बिक्री गर्छन्। स्याउको सुकुटी बनाउन र बेमौसममा पनि पर्यटकलाई मुस्ताङको स्याउ उपलब्ध गराउन कोल्ड स्टोर अनुदानमा व्यवस्थापन गरेका छन्। यहाँ कृषि ज्ञान केन्द्र, स्याउ जोनबाट पनि गुरुङले कृषि यान्त्रिक उपकरण अनुदानमा प्राप्त गर्ने गरेको बताउँछन्।

पछिल्लो समय किसान गुरुङ बगैँचाबाट परम्परागत स्याउखेतीलाई बिस्तारै मासेर हाइब्रिड स्याउ लगाउने योजनामा छन्। परम्परागत स्याउभन्दा आधुनिक हाइब्रिड स्याउखेतीबाट राम्रो आम्दानी हुने भएकाले परम्परागत स्याउलाई विस्थापित गर्दै लैजाने तयारी गरेको उनी बताउँछन्।

मुस्ताङमा जलवायु परिवर्तनका कारण यहाँको स्याउ छिटोछिटो पाक्न थालेको उनले सुनाए। जलवायुले आफ्ना लागि खासै असर नपुर्‍याएको उनको भनाइ छ। जलवायुका कारण तापक्रम वृद्धि हुँदा रोगकीरा नियन्त्रण गर्नमा चुनौती हुने बताए। यहाँ हाइब्रिड स्याउखेतीको राम्रो भविष्य रहेकाले यसको समुचित व्यवस्थापन गर्नसके मुस्ताङका सबै किसान करोडपति हुने किसान गुरुङको भनाइ छ।

समग्र मुस्ताङलाई स्याउको हबका रूपमा विकास गर्न यहाँ जग्गासम्बन्धी प्राविधिक तथा कानूनी जटिलता रहेको उल्लेख गरे। जिल्लाको दुई प्रतिशत पनि जग्गा नापी नहुँदा स्याउखेती गर्न चाहने व्यक्तिलाई जग्गा लिजमा लिएर खेती विस्तार गर्ने कार्यमा समस्या उत्पन्न भएको उनले जनाए। मुस्ताङमा खेर गएका जग्गालाई लिज प्रावधानमा ल्याउन सकेमा बर्सेनि अर्बौँ रूपैयाँ मुस्ताङ भित्रिने कृषक गुरुङले ठोकुवा गरे।

मुस्ताङमा राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै गइरहेकाले जिल्लाका किसानले उत्पादन गरेको स्याउ पोखरा-काठमाडौं पुर्‍याउन निकै सहज भएको उनले बताए। यहाँ सडक विस्तारकै कारण पर्यटक आवागमन वृद्धि भइरहेकाले यहाँको स्याउ फुटकर रूपमा पनि सुहाउँदो मूल्यमा बिक्री हुने गरेको बताए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल, हिमनदी र सिँचाइ स्रोत सुक्दै जान थालेकाले यहाँको स्याउलगायत खेतीमा थप चुनौती बढेको कर्मले सुनाए। कर्म भन्छन्, 'मुस्ताङमा कालीगण्डकी नदीको जल सतहलाई सरकारले लिफ्टिङ गरी सिँचाइको पहुँच पुर्‍याउन आवश्यक छ, यहाँको उच्च स्थानका स्याउ बगैँचामा सिचाइको समस्या देखिन थालेको छ, यसलाई अहिलेदेखि सरकारले योजनाबद्ध रूपमा सिँचाइको गुरुयोजना अघि बढाउनुपर्छ।' रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend