सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

हुम्ला-मुगु लिंक रोड : लोतीखोलामा बेलिब्रिज जडान

आइतबार, साउन ११ २०८२
हुम्ला-मुगु लिंक रोड : लोतीखोलामा बेलिब्रिज जडान

लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए। बर्सातमा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए।

अदानचुली- हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको  छ। चार करोड ९८ लाख रूपैयाँमा बेलिब्रिज जडान गर्ने काम सम्पन्न भएको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर नरेशराज जैसीलेका अनुसार ४२ मिटर लम्बाइको उक्त बेलिब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ।

लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए। हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो। बर्सातमा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए।

हुम्ला र मुगु जोड्नका लागि मात्र नभइ चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए। चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए। उनका अनुसार निरन्तरको पहलपश्चात बेलिब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो।

पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यतामात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ।

यही साउन १३ गतेका दिन औपचारिक रुपमा उद्‌घाटन गरी हुम्ला मुगु लिंक हुने भएको छ। चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री)ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात यो बेलिब्रिज निर्माण भएको छ।

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मङ्सिर २३ गते सम्झौता भई असार २२ गते सम्पन्न भएको उक्त बेलिब्रिज करिब पाँच महिनामा सम्पन्न भएको हो। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend