सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

हुप्सेकोट गाउँपालिकाले दूधमा अनुदान दिन थालेपछि बढ्यो उत्पादन

आइतबार, साउन ११ २०८२
हुप्सेकोट गाउँपालिकाले दूधमा अनुदान दिन थालेपछि बढ्यो उत्पादन

दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतिलिटर २० रूपैयाँ अनुदानको व्यवस्था गरेको थियो।

मध्यविन्दु- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूधमा अनुदान दिन थालेपछि उत्पादनमा शतप्रतिशतले वृद्धि भएको छ। दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतिलिटर २० रूपैयाँ अनुदानको व्यवस्था गरेको थियो।

जसअन्तर्गत एक लाख ५८ हजार १२६ लिटर दूध किसानले सहकारीमार्फत बिक्री गरेर अनुदान रकम प्राप्त गरेको हुप्सेकोट गाउँपालिकाका पशु सेवा शाखा प्रमुख अधिकृत बुद्धिबहादुर देउजाले बताए।

'आर्थिक वर्ष २०८०/८१ मा ७५ हजार २ सय लिटर दूध किसानले बिक्री गरेकामा गत आव २०८१/८२ मा एक लाख ५८ हजार १२६ लिटर दूध बिक्री गरेका छन्', उनले भने, 'गत आवमा मात्र प्रतिलिटर २० रूपैयाँ अनुदानले गर्दा ३१ लाख ६२ हजार ५२० रूपैयाँ गाउँपालिकाले किसानलाई भुक्तानी गरेको छ।'

हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि भएको पाइएको छ।

यसअघि किसानले सहकारीमा बिक्री गरेको दूधको तथ्यांकका आधारमा सहकारीमार्फत अनुदान रकम वितरण गर्ने गरिएकामा गत आवदेखि सबै किसानको व्यक्तिगत बैंक खातामा नै गाउँपालिकाले रकम भुक्तानी गरिएको अध्यक्ष पाण्डेले बताइन्।
 
'आव २०७९/८० मा प्रतिलिटर पाँच रूपैयाँ, २०८०/८१ मा प्रतिलिटर १० रूपैयाँ अनुदान रकम उपलब्ध गराइएको थियो', उनले भनिन्, 'गत आवदेखि प्रतिलिटर २० रूपैयाँ अनुदान व्यवस्था गरेका हौँ। यसको प्रतिफलस्वरूप घरायसी प्रयोगका लागि मात्र दूध उत्पादन गर्ने किसानले अहिले बिक्री गर्नेगरी पशुपालन गर्न थालेको पाएका छौँ।'

गाउँपालिकाले दूधमा अनुदान रकम दिन थालेपछि प्रत्येक वर्ष उत्पादन पनि बढेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताए। आव २०८०/८१ मा ७५ हजार २०२ लिटर दूध किसानले बिक्री गरेकामा गत आवमा त्यसमा शतप्रतिशत वृद्धि भइ एक लाख ५८ हजार १२६ लिटर दूध किसानले बिक्री गरेको पाइएको पराजुलीले जानकारी दिए।

'गाउँपालिकाभित्रका दुग्ध सहकारीले उपलब्ध गराएको चौमासिक तथ्यांकका आधारमा किसानकै बैंक खातामा अनुदान दिने व्यवस्था गरेका छौँ', उनले भने, 'उत्पादनका आधारमा अनुदान दिने कार्यक्रमले गाउँपालिकाभित्र पशुपालक किसानको सङ्ख्या पनि वृद्धि भएको छ।'

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ। उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थालेपछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उनले बताए।

'हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार किसानलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्, चालु आवका लागि पनि दूधमा प्रतिलिटर २० रूपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ', उनले भने।

गत आवमा सबैभन्दा धेरै दूध बिक्री गरेर हुप्सेकोट-४ शङ्खदेवका किसान कृष्णप्रसाद सापकोटाले दुई लाख ७८ हजार ६०६ रूपैयाँ गाउँपालिकाबाट अनुदान रकम प्राप्त गरेको लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताए। उनले १३ हजार ९८० लिटर दूध बिक्री गरेको लेखा अधिकृत रेग्मीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend