शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डीडीसीले गत मङ्सिरदेखि संकलन गरेको दूधको भुक्तानी किसानलाई दिएन

शनिबार, साउन १० २०८२
डीडीसीले गत मङ्सिरदेखि संकलन गरेको दूधको भुक्तानी किसानलाई दिएन

संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरु बताउँछन्।

कञ्चनपुर- दुग्ध विकास संस्थान (डीडीसी)  ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन। कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

संस्थानले गत मङ्सिरदेखि संकलन भएको दूधको भुक्तानी गर्न नसकेको हो। संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरु बताउँछन्।

‘हामीले डीडीसीबाट मङ्सिरयताको ६० लाख रुपैयाँ रकम पाउन बाँकी छ’ उनले भने, ‘डीडीसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनाैँ।’

उनका अनुसार साथी सहकारीले महिनाको पाँच हजार लिटर दूध दुग्ध विकास संस्थानलाई दिँदै आएको छ। संस्थानले दूधको पैसा भुक्तानी नगर्दा दूध उत्पादक किसानलाई दूधको पैसा दिन आफूहरुलाई समस्या भएको उनको भनाइ छ।

‘हाम्रो सहकारीले दैनिक एक हजार पाँचसयसम्म किसानबाट दूध संकलन गर्छ’ पनेरुले भने, ‘महिनामा स्थानीय बजारमा तीन हजार लिटरसम्म खपत हुन्छ बाँकी दुग्ध विकास संस्थानलाई दिन्छौँ।’ साथै साना किसान सहकारीले पनि संस्थानबाट दूधको भुक्तानी पाएको छैन।

सहकारीका अध्यक्ष खगेश्वर पाण्डेलले संस्थानबाट मङ्सिरयता २९ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउन रकम बाँकी रहेको बताए। ‘हामीले प्रत्येक महिना किसानलाई दूधको पैसा तिर्नुपर्छ संस्थानले समयमा हामीलाई भुक्तानी गर्दैन’ उनले भने।

समयमा भुक्तानी नहुँदा किसान समस्यामा परेकाे र सहकारीमा बचत गरेको पैसाबाट दूध किसानको पैसा भुक्तानी गर्नुपर्ने बाध्यता रहेकाे पनि उनकाे भनाइ छ। डीडीसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा फार्मको ६ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए।

‘कात्तिकदेखि चैतसम्म बढी दूध संकलन हुने भएकाले भुक्तानीमा ढिलाइ भएको हो’ उनले भने, ‘बाँकी रहेको ६ करोड छिट्टै भुक्तानी हुन्छ, तीन करोड ३७ लाख रुपैयाँ गत महिनामा भुक्तानी गरिसकेका छौँ।’ कञ्चनपुरबाट महिनामा दुई हजार पाँचसयदेखि चार हजार लिटरसम्म दूध संकलन हुन्छ। रासस


प्रकाशित : शनिबार, साउन १० २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend