सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

कास्कीमा गत आवमा दुग्ध उत्पादक किसानलाई दुई करोड अनुदान वितरण

शुक्रबार, साउन ९ २०८२
कास्कीमा गत आवमा दुग्ध उत्पादक किसानलाई दुई करोड अनुदान वितरण

कास्कीमा दुग्ध उत्पादक किसानलाई दुई करोड चार लाख ९२ हजार रूपैयाँ अनुदान वितरण गरिएको छ।

कास्की- कास्कीमा गत आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई दुई करोड चार लाख ९२ हजार रूपैयाँ अनुदान वितरण गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रतिलिटर पाँच रूपैयाँ र दोस्रो चरणमा प्रतिलिटर तीन रूपैयाँका दरले अनुदान दिएको हो।

व्यावसायिक किसानले उत्पादनका आधारमा अनुदान पाएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए। उनका अनुसार जिल्लाका दुग्ध उत्पादक किसानले समूह तथा सहकारी संस्थाबाट प्रदेश सरकारले दिएको अनुदान रकम पाएका हुन्।

उनका अनुसार कार्यालयले अनुदानका लागि आह्वान गरेकामा २६ वटा सहकारी संस्था छनोट भएका थिए। सहकारीका माध्यमबाट किसानलाई अनुदान रकम वितरण गरिएको थियो।

कुल ५१ लाख १४ हजार नौसय ६३ लिटर दूधमा अनुदान दिइएको कार्यालयले जनाएको छ। उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषिकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन नपाउने भएकाले यसप्रति किसानको आकर्षण बढेको पशु विकास अधिकृत पाण्डेले बताए।

उनले भने, 'उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ, भन्ने किसानको माग हो। जसले बढी उत्पादन गर्छ, उसैले सरकारबाट बढी अनुदान रकम पाउने गरी प्रोत्साहन कार्यक्रम ल्याएका हौँ। उत्पादन गर्न यस कार्यक्रमले सहयोग पुगेको छ।'

गण्डकी प्रदेश सरकारले पाँच वर्षदेखि किसानलाई दूध उत्पादनमा अनुदान रकम दिँदै आएको छ। अनुदान पाउनका लागि किसानले सहकारी संस्थामार्फत दूध बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले दिने अनुदान किसानले चौमासिक रूपमा प्राप्त गर्दछन्। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend