सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गुह्येश्वरीमा ६ अर्ब ५० करोडको लागतमा नयाँ हवाई इन्धन डिपो बन्ने, २०८४ मंसिरसम्म सञ्चालनमा ल्याउने लक्ष्य

शुक्रबार, साउन ९ २०८२
गुह्येश्वरीमा ६ अर्ब ५० करोडको लागतमा नयाँ हवाई इन्धन डिपो बन्ने, २०८४ मंसिरसम्म सञ्चालनमा ल्याउने लक्ष्य

आयल निगमले विमानस्थलको उत्तरपूर्वी गुह्येश्वरी क्षेत्रको ५० रोपनी जग्गामा आधुनिक र सुरक्षित डिपो बनाउने तयारी थालेको हो।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ६ अर्ब ५० करोड रूपैयाँको लागतमा नयाँ हवाई इन्धन डिपो निर्माण हुने भएको छ। नेपाल आयल निगमले विमानस्थलको उत्तरपूर्वी गुह्येश्वरी क्षेत्रको ५० रोपनी जग्गामा आधुनिक र सुरक्षित डिपो बनाउने तयारी थालेको हो।

यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवामार्फत तयार पारिएको डीपीआर बिहीबार निगमलाई हस्तान्तरण गरिएको हो। सहायक डिन डा. सुरज लामिछानेका अनुसार परियोजनाको सम्पूर्ण डीपीआर नेपाली प्राविधिक जनशक्तिले नै तयार पारेको हो।

नयाँ डिपोमा ३ हजार किलोलीटर क्षमताका ५ वटा भण्डारण ट्यांकी रहनेछन् भने २ हजार १ सय किलोलीटर क्षमताका दुईवटा पानी ट्यांकीसहित पूर्ण स्वचालित आगलागी नियन्त्रण प्रणाली (फायर फाइटिङ सिस्टम) रहनेछ। इन्धन डिपोको कार्यालय सिनामंगलका प्रमुख तथा आयोजना प्रमुख ई. प्रदीप यादवका अनुसार नयाँ डिपो पूर्ण रूपमा सुरक्षित, प्रविधियुक्त र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बन्नेछ।

सिनामंगलस्थित पुरानो डिपो अन्तर्राष्ट्रिय मापदण्डअनुसार नपरेको, भौतिक विस्तार सम्भव नभएको र विमानस्थलको सुरक्षामा चुनौती बढाएको भन्दै सरकारले २०८१ साउन २८ गते डिपो सार्ने निर्णय गरेको थियो।

योजना अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन भइसकेको छ। प्रमुख यादवका अनुसार आउँदो भदौ महिनासम्म निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ। २ महिनाभित्र मूल्यांकन सकिएपछि ठेक्का सम्झौता भइ आगामी ६ महिनाभित्र निर्माण कार्य सुरु गर्ने र २०८४ सालको मंसिरभित्र डिपो सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणका लागि आवश्यक ५० रोपनी जग्गा छुट्याइ सफा गरिसकेको जानकारी दिँदै प्रमुख यादवले भविष्यमा थप भण्डारण क्षमताको आवश्यकता हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै खाली क्षेत्रसमेत राखिएको बताए।

हवाई इन्धन डिपो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमै रहेकाले यसले राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशीलता बोकेको विषयमा पटकपटक छलफल हुँदै आएको थियो। यस्तो अवस्थामा डिपो स्थानान्तरणका लागि प्राविधिक, प्रशासनिक र नीतिगत प्रक्रियालाई अघि बढाएर अब निर्माणको चरणमा पुर्‍याउन लागिएको निगमले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend