सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

मल लिन पाल्हीनन्दनका किसान रातिदेखि लाइनमा

शुक्रबार, साउन ९ २०८२
मल लिन पाल्हीनन्दनका किसान रातिदेखि लाइनमा

रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालयअगाडि लाइनमा बसेका हुन्।

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिनका लागि रातिदेखि नै लाइन बसेका छन्। रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालयअगाडि लाइनमा बसेका हुन्।

पाल्हीनदन गाउँपालिका-४ का रामानन्दन हरिजनले भने, 'रोपाइँ सकिएको दुई महिना भयो, मलको अभाव भएर अहिलेसम्म पाएका छैनौँ। सरकारले उपलब्ध गराउने मल पाउने आशामा रातिदेखि लाइनमा बसेका छौँ।' खेतमा रासायनिक मल प्रयोग नगरेमा धान उत्पादन घट्नेमा उनले चिन्ता व्यक्त गरे।

हरिजनले भने, 'मल लिनका लागि ४ नं वडा कार्यालयको अगाडि रातिदेखि लाइनमा बसेपछि प्रतिकिसान २५ किलो युरिया मल पाएका हौँ। मलको अभाव देखेर खेती गरौँ की नगरौँ भन्ने दोधारमा छौँ।'

पाल्हीनन्दनको हरपुरमा बिहीबार ३ बजे रातिदेखि युरिया मल लिन सहकारीको अगाडि किसान लाइनमा बसेका रवीन्द्र हरिजनले बताए। लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेसँगै जमिन सुकेर खडेरी लागेको बताउँदै उहाँले धान सुक्न थालेको उल्लेख गरे।

मलको अभाव रहेकाले सबै किसानलाई वितरण गर्ने उद्देश्यले लाइनमा व्यवस्थित गराएर प्रतिकिसान २५ किलोका दरले युरिया वितरण गरिएको पाल्हीनन्दन-४ का वडाध्यक्ष रवीन्द्र सहानीले जानकारी दिए।

आवश्यकताअनुसार मल नपाएको किसानले गुनासो गरिरहेकाले वितरणको पहल थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए। मलको कोटा बढाउन आवश्यक रहेको बताउँदै उनले यसका लागि सरोकार भएका निकायसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गरे। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend