शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ९ २०८२
झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बाख्रा र खोरमा सहयोग गरेको कार्यक्रमले घाँस लगाउन पनि सिकाएपछि महिलाहरु प्रफुल्लित छन्। समूहले किम्बु, सुपर नेपियर, खन्युलगायतका घाँसका बिरुवा रोपेका छन्।

बागलुङ- यहाँको बागलुङ नगरपालिका-५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जंगल छ। यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो।

अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन्। उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन्।

बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसन नामक संस्थाले यहाँका आमाहरुलाई बाख्रापालनसम्बन्धी सीप र बीउ पुँजी उपलब्ध गराएको छ। वडा कार्यालयले त्यसको परिचालन र आवश्यक आहारमा सहयोग गरेको छ।

साँधखोलास्थित प्रगतिशील महिला समूहमा आबद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठाहरु हुर्किरहेका छन्।

'हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौँ, अहिले तालिम पाएपछि व्यवस्थित बाख्रापालन सुरु गरेका छौँ', समूहकी अध्यक्ष कोपिला किसानले भनिन्, 'बाख्राबाट आम्दानी गर्ने भनेर हामी मिलेर लागेका छौँ।' अघिल्लो वर्ष उपलब्ध गराएको बाख्राले आम्दानी दिन थालेपछि यस वर्ष बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन्। 

बाख्रापालनमा आबद्ध समूहका आमाहरुले उपयुक्त घाँसको प्रबन्ध गर्न नजिकैको सामुदायिक वनमा घाँसखेती गर्न थालेका छन्। साँधखोला नजिकैको ७० रोपनी सामुदायिक वन क्षेत्रमा झाडी फाँडेर घाँसखेती सुरुआत गरिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए।

'चिसो र मलिलो ठाउँ भएकाले हिउँद बर्खा घाँसको खाँचो नहोस् भनेर उन्नत घाँसका बिरुवा लगाइएको छ', उनले भने, '७० रोपनी क्षेत्रफल २७ जनालाई भाग लगाएर आफ्नो भागमा घाँसको विकास गर्न भनेका छौँ।'

ऐँसेलु फल्ने पाखोमा अब घाँस रोप्ने अभियान थालिएको समूहकी सदस्य बाटुली किसानले बताइन्। उनले वनमारा मासेर घाँसका बिरुवा हुर्किंदा हरेक गोठमा बाह्रै महिना घाँस पुग्ने बताइन्। आँठो छुटाएर पाखामा बिरुवा लगाउने काम भएकाले आफ्नै बारीको जस्तै घाँसको सुरक्षा गरिने उनले बताइन्।

बाख्रा र खोरमा सहयोग गरेको कार्यक्रमले घाँस लगाउन पनि सिकाएपछि महिलाहरु प्रफुल्लित छन्। समूहले किम्बु, सुपर नेपियर, खन्युलगायतका घाँसका बिरुवा रोपेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend