सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गुल्मीको सत्यवतीमा गाईपालक कृषकलाई प्रोत्साहन, पहिलो बेत ब्याउने गाईका लागि १० हजार अनुदान

बिहीबार , साउन ८ २०८२
गुल्मीको सत्यवतीमा गाईपालक कृषकलाई प्रोत्साहन, पहिलो बेत ब्याउने गाईका लागि १० हजार अनुदान

पालिकाले सार्वजनिकरुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८२/८३ को पशुपक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्सान कार्यक्रम अघि सारेको हो।

गुल्मी- सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ। गाउँ कार्यपालिकाको निर्णयबमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहनस्वरुप प्रतिगाई १० हजार रूपैयाँ अनुदान उपलब्ध गराइने भएको हो।

गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवर्द्धन गर्ने उदेश्यले कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त योजना ल्याएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए। पालिकाले सार्वजनिकरुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८२/८३ को पशुपक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्सान कार्यक्रम अघि सारेको हो।

कार्यक्रमबाट लाभ लिनका लागि पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएमा १० हजार रूपैयाँ अनुदान उपलब्ध गराउने जानकारी गराएको छ। उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफुले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने बताइएको छ।

अनुदान प्राप्त गर्नका लागि कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलोपटक ब्याएको व्यहोरा उल्लेख गरिएको कम्तीमा तीनजना छिमेकीको हस्ताक्षरलगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए। त्यसका अतिरिक्त निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताए।

गाउँपालिका उपाध्यक्ष निर माया तरामुका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्यरुपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने छ। पछिल्लो समयमा गाउँघरमा गाईपालन गर्ने परम्परा बिस्तारै लोप हुँदै जान थालेको अवस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्नका लागि उक्त अभियान सञ्चालन गर्न लागेको हो। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend