शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

कतारबाट फर्किएर उखु र मेवा खेती

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ८ २०७८
कतारबाट फर्किएर उखु र मेवा खेती

तनहुँ- कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्। व्यास नगरपालिका-१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थालेका हुन्।

करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गरेका उनी स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई व्यावसायिकरूपले उखु र मेवा खेतीतर्फ लागेका हुन्। व्यास नगरपालिका-११ स्थित गैह्राबारी भन्ने स्थानमा लामा कृषि तथा पशु फार्म दर्ता गरी वार्षिक रु डेढ लाख भाडा बुझाउने गरी बाइस रोपनी जग्गा भाडामा लिएर लामाले उखु र मेवा खेती गरेका हुन्।

करिब १७ रोपनी जमिनमा उखु र पाँच रोपनीमा मेवा खेती गरिएको किसान उनले बताए। सुरुमा नौ लाख रूपैयाँ लगानी गरी व्यवसाय थालेको बताउनुहुने  लामाले उखु गत असोज महिनादेखि र मेवा कात्तिक महिनादेखि उत्पादन लिन थालेको जानकारी दिए। पाँच महिनाको अवधिमा उखु करिब डेढ लाख र मेवा ५० हजार रूपैयाँभन्दा बढीको बिक्री गरिसकिएको उनको भनाइ थियो। चिसोका कारण अहिले बिक्री न्यून रहे पनि गर्मी बढ्न थालेपछि बिक्री राम्रो हुने अपेक्षा छ।

उक्त फार्ममा उत्पादन गरिएका उखु र मेवा जिल्लाको आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा र भिमाद बजारमा बिक्री हुँदै आएको छ। किसान लामाको व्यास नगरपालिका-३ अनशन चौतारीमा लामा फलफूल  तथा जुस पसल रहेकाले कतिपय उत्पादित सामान पसलबाट पनि बिक्री हुने गरेकाले व्यापार गर्न सहज भएको छ।

सुरुमा दुई हजार बोट काली उखु र तीन सय बोट रेडलेडी नाउँको मेवाको बिरुवा लगाइएकामा अहिले दैनिक राम्रो आम्दानी दिन थालेको बताइएको छ। एक वर्षअघि लगाइएको उखु तीन वर्षसम्म र एकपटक लगाइएको मेवाले दुई वर्षसम्म निरन्तर आम्दानी दिइरहने लामाका बाबु जयबहादुरले जानकारी दिए। फार्ममा रहेका कामदारलाई काम गर्न सिकाउनाका साथै आफू पनि दैनिक काम खट्ने गरेको उनले बताए। अहिले दैनिक चार कामदारले रोजगारी पाइरहेका छन्। बाबु जयबहादुरले भने, 'फार्मको रेखदेखदेखि काम गर्नेसम्मका जनशक्ति राखिएको छ।'

दुई छोरामध्ये एउटा छोरा होटल र अर्का छोरा फलफूल तथा जुस पसल सञ्चालन गर्दै आएपछि फार्म आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएको उनले बताए। उखु प्रतिढकको ५० र मेवा प्रतिकिलो ८० रूपैयाँमा बिक्री गर्ने गरिएको छ।

उखु धादिङको नौबिसे र मेवा भारतबाट ल्याएर व्यावसायिक रुपमा खेती गरिएको हो। उक्त रेडलेडी नाउँको मेवाको बीउ एक किलोग्रामको एक लाख रूपैयाँसम्म मूल्य पर्ने भएकाले महँगो रहेको जयबहादुरको भनाइ थियो। लामाले भने, 'खुदो प्रतिमाना ६ सय रूपैयाँमा बिक्री गर्ने गरिएको छ।' फार्ममा उखु र मेवाको खेतीका साथै भैँसी कुखुरा र पानीहाँस पाल्ने कार्य पनि अघि बढाएको बताइएको छ। रासस


प्रकाशित : आइतबार, फागुन ८ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend