सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सडकपेटीमै लाग्दै आएको गुद्री हाटबजार स्थानान्तरण

बिहीबार , साउन ८ २०८२
सडकपेटीमै लाग्दै आएको गुद्री हाटबजार स्थानान्तरण

हटिया स्थानान्तरणसँगै कञ्चनपुर-कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता आएको छ।

सिरहा- सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ। लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका-४ स्थित गुद्री हाटबजारलाई हालै करिब सय मिटर उत्तरतर्फ धमिनि मन्दिरनजिक सारिएको हो।

नगरप्रमुख श्यामकुमार श्रेष्ठको निर्देशनमा सडक अतिक्रमण हटाउँदै हाटबजारलाई निश्चित स्थानमा सारिएको हो। हटिया स्थानान्तरणसँगै कञ्चनपुर-कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता आएको छ।

'सडकमा हटिया लाग्दा जनजीवन प्रभावित थियो, सवारीसाधन चलाउन समस्या थियो, त्यसैले हटिया व्यवस्थित गर्न निर्देशन दिइएको हो', हटिया स्थानान्तरणपछि नगर प्रमुख श्रेष्ठले भने, 'सडकपेटी सार्वजनिक सम्पत्ति हो, त्यसलाई सुरक्षित र खुला राख्नु हामी सबैको दायित्व हो।'

गोलबजार उद्योग व्यापार संघका पूर्वअध्यक्ष भरत अग्रवालले  हाटबजारको स्थानान्तरणलाई सकारात्मक कदम भएको बताए। उनले भने, 'यस ठाउँमा लाग्ने हाटबजारले दुर्घटनाको जोखिम थियो। सडकपेटीमा हाटबजार लाग्दा ट्राफिक व्यवस्थापनमा चुनौतीका साथै दुर्घटना र व्यापारमा असर भइरहेको थियो। अब सुधार हुने अपेक्षा गरेका छौँ।'

गोलबजार नगरपालिकाले हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित र दिगो बनाउने योजना अघि सारेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend