शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

बुधबार, साउन ७ २०८२
पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

यहाँको लुम्बुक झरनाको पानी चिसोले जमेर पूरै लुम्बुक पहाड नै सेताम्मे हुँदा त्यहाँ पुग्ने जोकोही सर्वसाधारण व्यक्तिलाई मोहित तुल्याउने गर्छ।

मुस्ताङ- अग्ला/अग्ला विशाल चट्टानी पहाड। त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ।

यहाँको यो झरना समुन्द्री सतहको करिब चार हजार ५०० मिटर अग्लो विशाल चट्टानको पहाडसँगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ। हिउँदयामको पुस, माघ र फागुनमा पूरै झरनाको पानी बरफ बनेर सिंगो पहाड नै सेताम्मे हुन्छ।

बर्खायाममा तापक्रम बढेपछि यहाँको झरनाको पानी हावासँगै बतासिएर फेदमा झर्ने गर्छ। यहाँको लुम्बुक झरनाको पानी चिसोले जमेर पूरै लुम्बुक पहाड नै सेताम्मे हुँदा त्यहाँ पुग्ने जोकोही सर्वसाधारण व्यक्तिलाई मोहित तुल्याउने गर्छ। बर्खायाममा यहाँको झरनाको पानी बर्खाको समयमा हावाको बेगसँगै इन्द्रेणी रुपमा प्रकट हुन्छ।

पछिल्लो समय तीन वर्षयता मुस्ताङमा राम्ररी हिउँ नपर्दा यहाँको झरनाको पानीको बहाव निकै घटेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्ष सुरेन्द्र गुरुङ बताउँछन्। उनले हिउँ नपरेकाले यहाँ झरनाको पानीको स्रोत सुक्दै जान थालेकोप्रति चिन्ता व्यक्त गरे।

यहाँको लुम्बुक झरनालाई पर्यटकीय हबका रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि झरनाको पानीको स्रोत बर्सेनि कम हुँदै गइरहेकाले पर्यटन प्रवर्द्धन गर्नमा समस्या परेको बताए। वडाध्यक्ष गुरुङले हिउँ नपर्दा यहाँका हिउँ स्रोतको मात्रा निकै कम हुँदै गएकाले कृषि र पर्यटन विकासमा निकै ठूलो समस्या र चुनौती थपिएको उल्लेख गरे।

'हिउँदयाममा राम्ररी हिउँ परिदिएको भए यहाँको पहाडमा जमेको हिउँ नै बिस्तारै पग्लिएर पानीको स्रोतमा ग्रहण गर्थ्यो, तर खै किन हो यहाँ केही वर्षदेखि हिउँ पर्न सकेको छैन, यसैले होला साबिकको झरनाको बहाव निकै कम हुन पुगेको छ', वडाध्यक्ष गुरुङले भने।

वारागुङ मुक्तिक्षेत्र-५ स्थित फल्याक र धाकार्रजुङ गाउँबीचको लुम्बुक खोलाको मुहान नै लुम्बुक झरना हो। यहाँ अरू थप दुई साना झरना अवस्थित छन्। मुस्ताङको जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र फल्याक गाउँसम्म सवारीसाधनबाट आधा घण्टा र त्यहाँबाट झरनासम्म करिब एक घण्टाको पैदल उकालो चढेपछि लुम्बुक झरनामा पुग्न सकिने घरपझोङ-५ ठिनीका स्थानीय निरज थकालीले जानकारी दिए।

यहाँको लुम्बुक झरनाबाट नीलगिरि हिमाल र आसपासका मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने थकालीको भनाइ छ। यहाँका झरनाको शिखरबाट हावाले बतासिएको पानीको फोहोरा खस्दा निकै रोमाञ्चक अनुभूति हुने थकालीले दर्शाए।

झरनासम्म पुग्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शीर्षकको ससर्त बजेटले करिब तीन किलोमिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका अध्यक्ष रिङजिननामगेल गुरुङले बताए। अध्यक्ष गुरुङले यस स्थानमा झरनामात्रै नभइ गुरु पद्यसम्भवले ध्यान साधना गरेको ऐतिहासिक तथा धार्मिक गुफासमेत रहेकाले यहाँको पर्यटन विकासमा प्रचुर सम्भावना रहेको बताए। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend