सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

बुधबार, साउन ७ २०८२
युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

उनले तथ्यका आधारमा आएका गम्भीर प्रकारका कुनै पनि भ्रष्टाचारका घटनालाई सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विसं २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि स्पष्ट गरे।

नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको जवाफ थियो। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रुपमा पुनःसंरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए।

'वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेस प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ। जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन भइरहेका छन्', उनले भने।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने आफ्नो अठोटमा आफू स्पष्ट रहेको बताउँदै उनले तथ्यका आधारमा आएका गम्भीर प्रकारका कुनै पनि भ्रष्टाचारका घटनालाई सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend