सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई सैलुन तालिम

बुधबार, साउन ७ २०८२
विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई सैलुन तालिम

सैलुन व्यवसायी सुलभ सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा सैलुन सञ्चालन गर्दै आएका छन्।

चितवन- विदेशबाट फर्किएर यहाँ सैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिएका छन्। उनीहरुमध्ये १२० जनालाई उनले निःशुल्क तालिम दिएका हुन्।

भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर सैलुन सञ्चालन गर्दै आएका छन्। उनले त्यहीबाट तालिम र कपाल काट्ने काम गर्दै आएका छन्।

बाह्र वर्षअघि तीन वर्ष विदेश बसेर फर्किएका सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा सैलुन सञ्चालन गर्दै आएका छन्। उनले भने, 'यहाँ सिकेर नेपाल र विदेशमा अरुको सैलुनमा काम गर्ने धेरै छन्।'

विभिन्न संघसंस्थाको साझेदारीमा धेरै तालिम सञ्चालन गरेको उनी बताउँछन्। निजी खर्चमा तालिम लिन आउनेहरु पनि प्रशस्तै हुने गरेका छन्। पछिल्ला वर्षहरुमा सैलुन सुरु गरेको दिन पारेर निःशुल्क तालिम समेत दिने गरेको उनले भने।

यसवर्ष उनले १०१ जना युवालाई निःशुल्क सीपमूलक तालिम घोषणा गरेका छन्। सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा गरेका हुन्।

पपुलरले सामाजिक उत्तरदायित्वअन्तर्गत कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुर्व्यसनीसम्बन्धी सचेतनामूलक तालिम दिन लागेको उनले बताए।

कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी तालिम २० जनाभन्दा बढीलाई दिइने उनले बताए।

'नेपालमै स्वरोजगार बन्न चाहनेका लागि प्राथमिकतामा राखिनेछ', उनले भने, 'विदेश पलायन हुनेक्रमलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्नेछ।'

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उनले बताए। 'विद्यार्थीदेखि विदेश गएर फर्किएका युवायुवतीलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ', उनले भने, 'सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ।'

नब्बे घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उनले बताए। व्यावसायिकरुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट ३० हजार रूपैयाँ लिने गरिएको उनले बताए। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend