शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कैलालीमा बढ्यो चैते धान उत्पादन

बुधबार, साउन ७ २०८२
कैलालीमा बढ्यो चैते धान उत्पादन

गत वर्षको तुलनामा यसवर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

अत्तरिया- कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यसवर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले गतवर्ष जिल्लामा पाँच हजार ७२० मेट्रिकटन चैते धान उत्पादन भएकामा यसवर्ष आठ हजार १०० मेट्रिकटन उत्पादन भएको जानकारी दिए। उनले भने, 'गतवर्षको तुलनामा यस वर्ष चैते धानखेतीको क्षेत्रफल पनि बढेको छ। जसले गर्दा उत्पादनमा वृद्धि भएको हो।'

जिल्लामा गतवर्ष एक हजार १०० हेक्टर जग्गामा चैते धानखेती गरिएकामा यसवर्ष एक हजार ५ सय हेक्टरमा खेती गरिएको उनले जानकारी दिए। सूचना अधिकारी ओझाका अनुसार यसवर्ष चैते धानको उत्पादकत्वसमेत वृद्धि भएको छ। गतवर्ष चैते धानको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर रहेकामा यसवर्ष पाँच दशमलव चार मेट्रिकटन प्रतिहेक्टर पुगेको हो।

सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धानखेती गर्ने गरिएको बताउँदै उनले जिल्लाका अति डुबान प्रभावित हुने अन्य क्षेत्रका किसानले चैत धानखेती गर्दै आएका उल्लेख गरे। चैते धानखेतीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्रले यन्त्र उपकरण, बीउ, विषादीलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको सूचना अधिकारी ओझाले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend