सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गुल्मीमा दुईसय बस्ती बाढीपहिरोको उच्च जोखिममा, २२ हजारभन्दा बढी नागरिक प्रभावित हुने

मंगलबार, साउन ६ २०८२
गुल्मीमा दुईसय बस्ती बाढीपहिरोको उच्च जोखिममा, २२ हजारभन्दा बढी नागरिक प्रभावित हुने

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा वर्षातको समयमा बाढी र पहिरोबाट २२ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ।

गुल्मी- यहाँ करिब दुईसय बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको छ। 

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा बर्सातको समयमा बाढी र पहिरोबाट २२ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ। त्यसअन्तर्गत मुसिकोट नगरपालिकाका बाढीपहिरोबाट जिल्लामा सबैभन्दा धेरै जोखिम अवस्थामा रहेको बताइएको छ।

मुसिकोटका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा रहेका छन्। मुसिकोटको समुन्द्रे, कालिरहलगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन् भने सिम्ले, तोलादी, दजाकोटलगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मुसिकोटमा २०६४ र २०८१ मा गरेर पहिरोबाट दश जनाले ज्यान गुमाएका थिए।

त्यसैगरी, मालिकाका नौ स्थान बाढीको र अन्य सबै वडा पहिरोको जोखिममा परेका छन्। तीमध्ये पनि १८ स्थानलाई विशेष क्षेत्रका रुपमा राखिएको छ। मालिकामा छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन् भने नेटा, म्याला, जुकेना र आठमिरेलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन्।

सत्यवती गाउँपालिकामा मुख्य नौ स्थान बाढी र पहिरोको जोखिममा रहेका छन्। बाढीबाट बडिगाड क्षेत्रका उल्लीखोला, साहाघाट, रुद्रवेणी र लुम्दिखोला प्रभावित क्षेत्रका रुपमा रहेका छन्। ठूलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा र अस्लेवा पहिरोको जोखिममा रहेका छन्। सत्यवती गाउँपालिकामा २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो। तत्कालीन समयमा ३०० बढी परिवार विस्थापित भएका थिए।

गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो। विभिन्न वडामा करिब १०० घरपरिवार विस्थापित भएका थिए। छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी तथा १० स्थान पहिरो र मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन्।

समय-समयमा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भए पनि जिल्लामा स्थानीय सरकार र प्रशासनले जोखिम न्यूनीकरणका लागि ठोस योजना बनाउन तथा कार्यान्वयन गर्न सकिरहेको छैन। त्यसकारण बाढी र पहिरोको जोखिममा रहेका परिवार बर्सातमा ढुक्कले निदाउने अवस्था नरहेको नागरिक समाजका अध्यक्ष पदम पाण्डेयले बताए।

उनले बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना नभएको हुँदा जिल्लामा सयौँ परिवार बाढी र पहिरोमा जोखिम मोलेरै बस्नुपर्ने बाध्यता रहेको बताए। विसं २०७६ मा पहिरोका कारण सत्यवतीको लुम्पेकमा करिब ७ सय परिवार पहिरोका कारण विस्थापित बनेर लामोे समय विद्यालयमै आश्रय लिएर बस्नुपरेको थियो।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बाढी र पहिरोको जोखिम स्थान पहिचान गरेर सुरक्षा टोलीलाई सतर्कतासहित तैनाथी अवस्थामा राखिएको बताए। जिल्लामा विपद् व्यवस्थापन समितिले हरेक वर्ष विपद् प्रतिकार्य योजनासमेत बनाउँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend