सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

हिम्मतले आत्मनिर्भर बनेका नन्दप्रसाद, चिया र नास्ता पसलमार्फत चलाइरहेछन् परिवार

मंगलबार, साउन ६ २०८२
हिम्मतले आत्मनिर्भर बनेका नन्दप्रसाद, चिया र नास्ता पसलमार्फत चलाइरहेछन् परिवार

उनले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गरेका छन्।

कञ्चनपुर- कृष्णपुर नगरपालिका-५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ। ग्राहकका बीचमा त्यही भेटिन्छन्, नन्दप्रसाद तिवारी। चिया र नास्ताको पसलमार्फत उनले आफ्नो परिवार चलाइरहेका छन्।

करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन। विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उनी सहचालकका रूपमा काम गर्दा दुर्घटनामा परे। उनको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो। रोजगारी गुमेपछि उनी घर फर्किए।

'घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो', उनले भने, 'विसं २०५४ मा मुगुबाट गजरौला झरे, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरे।'

श्रीमती लक्ष्मीका साथमा उनी चिया, समोसा र पकौडा बनाउँछन्। दुवैजना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउँछन्। त्यसमा उनका छोरा र बुहारीले पनि साथ दिएका छन्। त्यसबाट मासिक ३० देखि ३५ हजार रूपैयाँसम्म आम्दानी हुन्छ।

पसलकै कमाइले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ। यस्तैमा उनले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गरेका छन्।

दैनिक २०० रूपैयाँ सहकारीमा बचत गर्ने उनले वार्षिक एक लाखसम्म बचत गर्ने गरेका छन्। उनको पाँचजनाको परिवारको सहारा एकमात्रै त्यही चिया पसल मात्रै रहेको छ। त्यसकै कमाइले परिवारको खर्च चल्छ। तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोगेका छैनन्।

'विसं २०६० तिर आगलागीले पसलका सबै सामान जले', उनी विगतलाई सम्झँदै भन्छन्, 'विसं २०६४ मा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिनँ।'

सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उनले बताए। 'हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ', स्थानीय युवा सुरेश विक भन्छन्, 'स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उहाँले गरेको संघर्ष अनुकरणीय छ।'

उनका अनुसार तिवारी अपांगता भएको भए पनि कामबाट कहिल्यै पछि हटेका छैनन्। उनले भने, 'तिवारीको संघर्ष देख्दा शारीरिक अपांगता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ, पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ, तर श्रम, इमान र निरन्तरता छ, त्यसैले ग्राहले उहाँलाई रुचाउँछन्।' रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend