सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

केदारनाथमा पदमार्ग निर्माण

मंगलबार, साउन ६ २०८२
केदारनाथमा पदमार्ग निर्माण

अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो।

स्याङ्जा- गल्याङ नगरपालिका-७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ।

गल्याङ-८ चिउरीस्थित सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो। अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो।

दर्शनार्थीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताए। नगरपालिकाले पदमार्ग निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा १० लाख रूपैयाँ र आव २०८१/८२ मा १० लाख रूपैयाँ विनियोजन गरेको उनले बताए।

विनियोजित बजेटबाट ३८५ मिटर लामो पदमार्ग निर्माण गरिएको छ। मन्दिरसम्म पुग्न स्टिलको रेलिङ समेत जडान गरिएको छ। सुनौली-पोखरा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने भारतीय पर्यटकलाई समेत यसतर्फ आकर्षित गर्न सकिने उक्त  मन्दिरका पुजारी काशीराम सापकोटाले बताए।

चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान शिवको प्रतिमूर्ति देख्न सकिन्छ। प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दीलगायतका अन्य थुप्रै आकृति यहाँ देख्न पाइने पुजारी सापकोटाले बताए।

मन्दिरलाई व्यवस्थित बनाउन २०७२ सालमा महायज्ञ सञ्चालन गरिएको थियो। उक्त महायज्ञबाट संकलित दुई करोड रूपैयाँबाट मन्दिरमा नयाँ संरचना तथा पूर्वाधार निर्माण गरिएको छ। मन्दिरलाई नयाँ स्वरुप दिइएको छ।

सिद्धार्थ राजमार्गसँगै जोडिएको आँधीखोलामाथि बनेको अग्लो झोलुंगे पुल हुँदै झन्डै १५ मिनेटको पैदल दुरीमा यहाँ पुग्न सकिन्छ। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend