सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गत आवमा १८ खर्बको आयात, तीन वर्षपछि वैदेशिक व्यापारमा वृद्धि

१ खर्बको भटमासको तेल आयात

मंगलबार, साउन ६ २०८२
गत आवमा १८ खर्बको आयात, तीन वर्षपछि वैदेशिक व्यापारमा वृद्धि

आयात बढेसँगै कुल वैदेशिक वस्तु व्यापारमा पनि वृद्धि भएको छ। आयात घट्दा पछिल्ला दुई वर्ष ऋणात्मक भएको कुल व्यापार गएको वर्ष १९ प्रतिशतले बढेको हो।

काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा वस्तु आयात १८ खर्ब रूपैयाँको भएको छ। पछिल्ला दुई आर्थिक वर्षमा ओरालो लागेको आयात गएको वर्ष भने सकारात्मक वृद्धि देखिएको हो। 

गएको वर्ष १८ खर्ब ४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। यो गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो। पछिल्ला दुई आर्थिक वर्षमा भने १६ प्रतिशत र १ प्रतिशतले घटेको थियो। बजारमा माग नहुँदा संकुचित भएको आयात गएको वर्ष भने दोहोरो अंकले बढेको हो।

भन्सार विभागको तथ्यांकअनुसार गएको वर्ष निर्यात पनि २ खर्ब ७७ अर्ब रूपैयाँको भएको छ। व्यापार घाटा ६ प्रतिशतले विस्तार भएर १५ खर्ब २७ अर्ब पुगेको छ।

आयात बढेसँगै कुल वैदेशिक वस्तु व्यापारमा पनि वृद्धि भएको छ। आयात घट्दा पछिल्ला दुई वर्ष ऋणात्मक भएको कुल व्यापार गएको वर्ष १९ प्रतिशतले बढेको हो। 

गएको वर्ष सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। जसमा डिजेल आयातमा १ खर्ब २८ अर्ब, पेट्रोलमा ६४ अर्ब, खाना पकाउने ग्यासमा ६२ अर्ब रूपैयाँ बाहिरिएको छ। 

त्यस्तै गएको वर्ष भटमासको कच्चा तेल १ खर्ब ८ अर्बको आयात भएको छ। विदेशबाट अप्रशोधित तेल ल्याएर भारतमा निर्यात हुने भएकाले यो तेलको आयात उच्च देखिएको छ। भटमासको तेल नेपालमा ल्याएर प्याकेजिङ गरेर न्यून करको फाइदा उठाउँदै व्यवसायीहरूले भारत निर्यात गर्दै आएका थिए।

तर पछिल्लो समय भारतले अरु मुलुकबाट पनि आयात हुने तेलको भन्सार घटाइदिएपछि नेपालको यो निर्यातमा धक्का लाग्ने देखिएको छ। त्यस्तै स्टिलको आयात पनि गत वर्षको तुलनामा सुधार भएको छ। स्टिलको आयात ४८ अर्ब रूपैयाँको आयात भएको छ।

त्यस्तै, स्मार्टफोन ३५ अर्ब, स्टिलजन्य अन्य वस्तुको आयात ३३ अर्बको आयात भएको छ। विद्युतीय कारको आयात १८ अर्बको, १७ अर्ब रूपैयाँको सुन आयात भएको छ। सूर्यमूखिको तेलको आयात १९ अर्ब रूपैयाँको भएको छ। 


प्रकाशित : मंगलबार, साउन ६ २०८२१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend