शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका कुमार

मंगलबार, साउन ६ २०८२
विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका कुमार

विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ।

भोजपुर- कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ। वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन्। भोजपुर नगरपालिका-५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लागेका छन्। वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन्।

विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ। 'वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ, अहिले विदेश छाडेर यहाँ नै व्यावसायिक कृषिमा लागेको छु। परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु', उनले भने।

‘उन्नति कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिक रूपमा कृषि पेसामा जुटेको उनको भनाइ छ। राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट दुईदेखि तीन लाख रूपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ। आफ्नो बारीमा अहिले एक हजार ४०० बोट खुर्सानी लगाएको उनले जानकारी दिए। युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उनले बताए।

'हामी युवाहरू आफ्नो ठाउँमा सम्भावना खोजी गर्न छाडेर विदेश गइरहेको छौँ, राम्रो व्यावसायिक योजना बनाएर कृषि गर्न सकेमा यहाँ नै राम्रो आम्दानी लिन सकिने रहेछ। कृषि गरेर घरपरिवारलाई राम्ररी चलाएको छु', उनले भने।

आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी दुईसयदेखि तीनसय रूपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिए। यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाडौंलगायत सहरमा जाने गरेको उनी बताउँछन्।

पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उनको भनाइ छ। खुर्सानीखेतीसँगै पशुपालन पनि गरिरहेकाले प्रांगारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानीखेती गर्दै आएको विष्टले बताए। मानव स्वास्थ्यलाई ध्यानमा राखेर  गोबर मलको मात्र प्रयोग गरेको उनको भनाइ छ।

'मैले अर्गानिक अकबरे खुर्सानीखेती गरिरहेको छु', उनले भने, 'मानव स्वास्थ्यलाई ध्यानमा राखेर मैले अर्गानिक खेतीमा जोड दिएको हुँ।' करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उनले बताए।
 
व्यावसायिक कृषिमा लागेका किसानलाई तालिमसँगै प्राविधिक सहयोग भएमा थप सहजता हुने उनको भनाइ छ। राज्यले किसानलाई उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै आवश्यक सहयोग गर्नुपर्ने उनले बताए। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend