सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

राजस्व कार्यालय धनगढीद्वारा गत आवमा २ अर्ब ८७ करोड राजस्व संकलन

मंगलबार, साउन ६ २०८२
राजस्व कार्यालय धनगढीद्वारा गत आवमा २ अर्ब ८७ करोड राजस्व संकलन

गत आवको लक्ष्यबराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी संकलन भएको सूचना अधिकारी छत्रबहादुर माझीले बताए।

कैलाली- आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो।

कार्यालयले गत आवमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत संकलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए। गत आवको लक्ष्यबराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी संकलन भएको उनले बताए।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख आठ हजार रूपैयाँ, व्यक्तिगत आयकरबाट एक अर्ब २७ करोड ५९ लाख ८१ हजार रूपैयाँ, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार रूपैयाँ र मूल्य अभिवृद्धि करबाट एक अर्ब ११ करोड चार लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गरेको उनले बताए।

आव २०८०/८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार रूपैयाँ उठाउने लक्ष्य लिएकामा दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend