शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धान रोपाइँमा सुस्तता : देशभर ७२ प्रतिशत मात्रै सम्पन्न, गत वर्षभन्दा १२ प्रतिशतले कम

मंगलबार, साउन ६ २०८२
धान रोपाइँमा सुस्तता : देशभर ७२ प्रतिशत मात्रै सम्पन्न, गत वर्षभन्दा १२ प्रतिशतले कम

यस वर्षको धान रोपाइँमा अपेक्षित प्रगति नदेखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर करिब ७२ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ८४ प्रतिशत रोपाइँ भइसकेको थियो।

काठमाडौं- यस वर्षको धान रोपाइँमा अपेक्षित प्रगति नदेखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर करिब ७२ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ८४ प्रतिशत रोपाइँ भइसकेको थियो।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार करिब १० लाख हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। कुल १४ लाख हेक्टरमध्ये बाँकी करिब ४ लाख हेक्टर क्षेत्र अझै रोपाइँ हुन बाँकी छ।

प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। त्यहाँ एक लाख ७१ हजार हेक्टरमा रोपाइँ सकिएको छ। कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत तथा बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ भएको छ। बागमतीमा एक लाख पाँच हजार हेक्टर क्षेत्रफलमा धान रोपिएको मन्त्रालयले जनाएको छ।

जोशीका अनुसार यदी मौसम अनुकूल रह्यो भने साउनको अन्तिम सातासम्म कुल रोपाइँको ९८ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। तर, विगतका वर्षको तुलनामा यसपालि मनसुनको अनियमितता, अतिवृष्टि, अनावृष्टि र अन्य दैवी प्रकोपले रोपाइँमा ढिलाइ गराएको मन्त्रालयको ठहर छ।

धान उत्पादनको सन्दर्भमा मन्त्रालयले २०८०/८१ मा ५७ लाख २४ हजार मेट्रिकटन उत्पादन भएको जनाएको छ। यस वर्ष उत्पादन ६० लाख मेट्रिकटन पुग्ने अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिकटन चामल उत्पादन हुने छ। मन्त्रालयका अनुसार उत्पादनमा १० प्रतिशत घटबढ हुँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत असर पर्ने देखिन्छ।

मन्त्रालयले पहाडी क्षेत्रको तुलनामा तराईलाई धान उत्पादनका लागि बढी उपयुक्त मानेको छ। जोशीका अनुसार तराई क्षेत्रमा मात्रै कुल धान उत्पादनको ७० प्रतिशत योगदान हुने गरेको छ भने बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुन्छ।

मन्त्रालयले आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन र ज्ञान-सीपमा आधारित अभ्यासले उत्पादन वृद्धिमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेको छ। यद्यपि, प्रारम्भिक तथ्यांकले रोपाइँको गति सुस्त देखिएकाले लक्ष्य अनुसारको उत्पादन हुनेमा अझै अनिश्चितता रहेको देखिन्छ। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend