सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

भारतको सहयोगमा ३९ करोड लागतका पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइँदै

सोमबार, साउन ५ २०८२
भारतको सहयोगमा ३९ करोड लागतका पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइँदै

यी परियोजनाहरुको कार्यान्वयन नगरपालिका र गाउँपालिकासहित स्थानीय निकायहरु तथा संस्थाहरुमार्फत गरिनेछ।

काठमाडौं- भारतको अनुदान सहयोगमा नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढ्ने भएको छ। यी परियोजनाहरुको कुल अनुमानित लागत ३९ करोड रूपैयाँ रहेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन काठमाडौंस्थित भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र विभिन्न परियोजना कार्यान्वयन निकायहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यो परियोजनाअन्तर्गत धनुषाको बटेश्वरस्थित जनशक्ति माध्यमिक विद्यालय भवनको निर्माण, पर्साको पोखरिया नगरपालिकामा रहेको महोवनी पद्म माध्यमिक विद्यालयको निर्माण र अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको निर्माण हुनेछ।

यस्तै, बाराको प्रसौनी गाउँपालिका-२ मा बेंगा साह माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास तथा पुस्तकालयको निर्माण हुनेछ भने मनाङको नासोँ गाउँपालिका-५ मा पाँच शय्याको अस्पताल भवनको निर्माण हुनेछ।

यी परियोजनाहरुको कार्यान्वयन नगरपालिका र गाउँपालिकासहित स्थानीय निकायहरु तथा संस्थाहरुमार्फत गरिनेछ। यी संरचनाहरुको निर्माणले नेपालका जनतालाई राम्रो शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

सन् २००३ यता भारतले आज समझदारीपत्रमा हस्ताक्षर भएका पाँचवटा परियोजनाहरुसहित नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ। यीमध्ये भुइँतहमा नेपालका ७ वटै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा ४९६ परियोजनाहरु सम्पन्न भइसकेका छन्। बाँकी परियोजनाहरु विभिन्न चरणमा रहेको भारतीय दूतावासले जनाएको छ।


प्रकाशित : सोमबार, साउन ५ २०८२१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend