सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

कर्णाली करिडोर : अझै सुरु भएन नौवटा पुल निर्माणको काम

सोमबार, साउन ५ २०८२
कर्णाली करिडोर : अझै सुरु भएन नौवटा पुल निर्माणको काम

करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुल अझै बन्न सकेका छैनन्।

कालीकोट- कर्णाली ‘करिडोर’का नौवटा पुल निर्माणको काम अझै सुरु भएको छैन। करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुल अझै बन्न सकेका छैनन्।

विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझै सुरु नभएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए। 'करिडोरका नौवटा पुलको ठेक्का भएको तीन वर्ष भयो', उनले भने। निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधानअनुसार नौमध्ये सातवटा पुलको डिजाइन नै स्वीकृत हुन बाँकी रहेको नेपालीले जानकारी दिए।

कालीकोट खण्डका तीन, बाजुराको बड्डीगाड जुड्डी, कवाडी खोला, हुम्लाको गल्फा गाड, सल्लीसल्लासहित नौवटा सडक पुल ठेक्का भएर पनि काम नभएको जनाउँदै कालीकोटबाट निर्वाचित प्रतिनीधिसभाका सांसद महेन्द्रबहादुर शाहीले बताए। कर्णाली करिडोरअन्तर्गत कालीकोटको फुगाड खोलाको फलामे बेलिब्रिज २०७६ को असारमा आएको बाढीले बगाएपछि पानी परेको बेला सडक बन्द हुने गरेको छ।

पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रास्कोटको बीचमा पर्ने सान्निगाड खोला तथा नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का पाएको विकोइ कन्स्ट्रक्सनले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सडक डिभिजन प्रमुख नेपालीले जानकारी दिए।

कालीकोटका तीनवटा पुलको १८ करोड रूपैयाँको ठेक्का पाएको बिकोइ कन्स्ट्रक्सनका हरिराम कोइरालाले सडक विभागबाट डिजाइन स्वीकृत हुन ढिलाइ भएकाले काम सुरु हुन नसकेको बताए। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend