सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

यस्तो रह्यो कृषि मन्त्रालयको एकबर्से उपलब्धि

कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको छ : कृषिमन्त्री अधिकारी

सोमबार, साउन ५ २०८२
यस्तो रह्यो कृषि मन्त्रालयको एकबर्से उपलब्धि

चालु आर्थिक वर्षमा बाँदरलगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम, प्रांगारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियानलगायत परिणाममुखी कार्यक्रमहरू अघि सारिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए।

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको बताएका छन्।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गरे।

मन्त्री अधिकारीले यो अवधिमा लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको बताए। यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको उनले उल्लेख गरे।

विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजनअनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी संगठन सुदृढ तथा व्यवस्थापन गरिएको, बीउबिजन नियमावली, २०८१ स्वीकृत भइ कार्यान्वयनमा आएको, कृषि तथा पशुपक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुनेगरी कार्यान्वयनमा ल्याइएको मन्त्री अधिकारीले बताए।

एक वर्षको अवधिमा जीवनाशक विषादीको गुणस्तर परीक्षण तथा अनुसन्धान प्रयोगशाला संचालनार्थ क्वारेन्टाइन केन्द्र, प्रदेश सरकार, विश्वविद्यालयलगायत सरोकारवाला संस्थाहरूसँग परामर्श र समन्वय गर्नेगरी आवश्यक संरचना, मोडेल र कार्यक्रमबारे नीतिगत निर्णय भइ प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

दुग्ध विकास संस्थान (डीडीसी) सम्बन्धी अध्ययन गरी पुनर्संरचना एंव व्यावसायिक सूधारका लागि २३ बुँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ। चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजीकरणसम्बन्धी कार्य गरिएको छ।

यस्तै, खोरेत  रोग मुक्त क्षेत्र घोषणागर्न संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको इलाम जिल्लाका ३ वटा क्षेत्रमा जोनिङ तथा कम्पार्टमेन्टलाइजेसन कार्य थालनी भएको छ। यसबाट पशुजन्य पदार्थ (मासु, दुध, छुर्पी, घिऊ) को अन्तराष्ट्रिय बजार पहिचान गर्न महत्वपूर्ण रहने विश्वास लिइएको छ।

मन्त्रालयका अनुसार गत मंसिरदेखि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाअन्तर्गत पाँचवटा पशुपक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी इन्फरमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएका छन्।

चालु आर्थिक वर्षमा बाँदरलगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम, बाच्छीमात्र जन्मने वीर्य (सेक्सड सिमेन) प्रविधि लागु गर्ने कार्यक्रम, प्रांगारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, निर्यातजन्य बाली/वस्तुहरु जस्तैः चिया, कफी, अलैँची, छुर्पी, आदिको उत्पादन वृद्धि, प्रांगारिक प्रमाणीकरण र निर्यात सहजीकरणजस्ता केही नवीन र परिणाममुखी कार्यक्रमहरू अघि सारिएको कृषिमन्त्री अधिकारीले जानकारी दिए। यसले कृषकको जीवनस्तर सुधारसँगै राष्ट्रिय कृषि प्रणालीलाई दीगो, व्यावसायिक र निर्यातमुखी बनाउन सघाउने उनको भनाइ छ।


प्रकाशित : सोमबार, साउन ५ २०८२१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend