सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोड रुपैयाँको कृषिजन्य वस्तु निर्यात

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ५ २०८२
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोड रुपैयाँको कृषिजन्य वस्तु निर्यात

सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ।

झापा- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँबराबरको कृषिजन्यवस्तु निर्यात भएको छ।  

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन्।

गत आवमा सबैभन्दा धेरै चिया नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो एक अर्ब नौ करोड मूल्य बराबरको निर्यात भएको छ। 

साथै अदुवा २७ करोड २६ लाख, बन्दा आठ करोड ६० लाख, जडीबुटी नौ करोड १३ लाख, मसुरो दाल नौ करोड सात लाख बराबरको निर्यात भएको छ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ। 

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन्।

क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार, चामल नौ करोड २७ लाख, ताजा तरकारी ३८ करोड ३२ लाख मूल्य बराबरको आयात भएको छ। 

यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख, लसुन ६४ करोड १५ लाख, आलु ७३ करोड ८६ लाख रुपैयाँबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend