शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रोपाइँ गर्न नपर्ने धानखेती, ईरीको सहयोगमा नेपालमा प्रयोग

सोमबार, साउन ५ २०८२
रोपाइँ गर्न नपर्ने धानखेती, ईरीको सहयोगमा नेपालमा प्रयोग

नेपालका पहाडी क्षेत्रमा पाखोमा गरिने धान खेतीमा सुरूमै बिउ छर्ने र पछि गोडमेल गर्ने चलन थियो। थोरै खेती हुने भएकाले यो सम्भव थियो र खेतमै गरिने धान खेतीमा पनि यस्तो विधि पहाडी क्षेत्रमा हुने गरेको छ।

काठमाडौं- धानखेतीको मुख्य काम रोपाइँ नै विस्थापित गर्ने खेतीशैलीको प्रयोग नेपालमा पनि सुरू भएको छ।

धानको मुख्य उत्पादन लागतका रुपमा हेरिँदै आइएको रोपाइँलाई विस्थापन गर्न सिधै बीउ छरेर धान हुर्काउने खेती प्रविधिको सुरूवात नेपालका केही जिल्लामा गरिएको हो। अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (ईरी)को सहयोगमा पश्चिम तराईका केही जिल्लामा यसको प्रयोग भइरहेको छ।

धानको बीउ छरेर त्यसैलाई गोडमेल गरेर धान उत्पादन गर्ने परम्परागत खेती प्रणाली हो। तर पछिल्लो समय समथर र सिँचाइ सुविधा भएको ठाउँमा धान उत्पादनमा ब्याडमा बीउ राख्ने र त्यसलाई फेरि उखेलेर खेतमा रोप्ने शैली लोकप्रिय भएको छ। 

ईरीले नेपालमा सिफारिस र प्रयोग गरिरहेको नयाँ विधि भने मेसिनमा आधारित हो। तर यसले मेसिनकै प्रयोग पनि घटाउने दाबी गरिएको छ।

धानको बीउ सिधै छर्ने र त्यसरी उम्रिएको धानलाई विस्तारै गोडमेल गर्दै उब्जाउने शैलीको प्रयोग पछिल्लो समय ईरीको सहयोगमा नेपालका कञ्चनपुर, बर्दिया र कैलालीका ९२ जना किसानसँग मिलेर अभ्यास गरिएको थियो। 

३० हेक्टरमा गरिएको उक्त प्रयोगको परिणाम सुखद आएको अधिकारीहरूले बताएका छन्। रोपाइँको प्रक्रियामा लाग्ने झन्झटिला प्रक्रिया विस्थापित हुने यो प्रविधिबाट उत्पादन लागत घट्ने र उत्पादकत्व पनि बढ्ने अनुमान गरिएको छ। यसमा ईरीले हर्दिनाथ ४, ५, ६ र  घैया ३ जातको बीउ सिफारिस गरेको थियो। 

यसका लागि ईरीले नै पहिलो पुस्ताकै बीउ उपलब्ध गराएको थियो। यो प्रविधिबाट गरिएको खेतीबाट धानको उत्पादन प्रतिहेक्टर ४.७५ टन रहेको छ। त्यस्तै घैया ३ को भने ५.४ टन रह्यो, जुन नेपालको औसत उत्पादनको तुलनामा राम्रो हो। 

यो विधिले मानवीय श्रममात्र होइन मेसिनको प्रयोग पनि न्यून गरिदिन्छ। यसमा मुख्यत: समान दुरीमा मेसिनकै माध्यमबाट बीउ छरिन्छ। न्यून उत्सर्जन, थोरै ऊर्जा तथा पानीको प्रयोग तथा समग्र न्यून लागतमा राम्रो उत्पादन हुने दाबी गरिएको छ। 

यो प्रविधिबाट खेती गर्दा झारको समस्या हुनसक्छ। जसका लागि झारनाशक मल तथा अन्य सावधानी अपनाउन सकिने बताइएको छ।

नेपालमा गरिएको प्रयोगमा केही किसान यसमा असफल भएपछि ईरीको सुझाव र सिफारिसअनुसारको काम गर्दा सफल भएको दाबी गरिएको छ। 

नेपालका पहाडी क्षेत्रमा पाखोमा गरिने धानखेतीमा सुरूमै बीउ छर्ने र पछि गोडमेल गर्ने चलन थियो। थोरै खेती हुने भएकाले यो सम्भव थियो। खेतमै गरिने धानखेतीमा पनि यस्तो विधि पहाडी क्षेत्रमा हुने गरेको छ। 


प्रकाशित : सोमबार, साउन ५ २०८२१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend