सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बाँसका सामग्री निर्माण गरी आम्दानी गर्दै मेचीनगरका महिला

आइतबार, साउन ४ २०८२
बाँसका सामग्री निर्माण गरी आम्दानी गर्दै मेचीनगरका महिला
फाइल तस्बिर

मेचीनगर-४ ले उनीसहित यस क्षेत्रका ३० जनालाई गत वर्ष हस्तकलासम्बन्धी तीनमहिने तालिम प्रदान गरेपछि अहिले यहाँका महिला बाँसका आकर्षक सामग्री निर्माणमा जुटेका हुन्।

झापा- मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न  कलात्मक सामग्री निर्माणमा जुटेका छन्। बाँसको जरा संकलन गरी हस्तकलासम्बन्धी विभिन्न सामग्री निर्माणमा यहाँका महिला जुटेका हुन्।

मेचीनगर-४ की ४० वर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा संकलन गर्ने र त्यसमा विभिन्न वन्यजन्तुका कलात्मक सामग्री निर्माण गरेर बित्ने गरेको छ। गाउँघरमा दाउराका रूपमा प्रयोग हुने बाँसको जराबाट हात्ती, चराचुररुंगी र विभिन्न सजावटका आकर्षक सामग्री निर्माण हुने उनले बताइन्। तयारी सामग्रीको मूल्य एक हजार रूपैयाँदेखि निर्धारण गरिएको विष्टले जानकारी दिइन्।

मेचीनगर-४ ले उनीसहित यस क्षेत्रका ३० जनालाई गत वर्ष हस्तकलासम्बन्धी तीनमहिने तालिम प्रदान गरेपछि अहिले यहाँका महिला बाँसका आकर्षक सामग्री निर्माणमा जुटेका हुन्।

महिलाले तयार गरेका सामग्रीको बजारीकरण वडा कार्यालय र जिल्लास्थित डिभिजन वन कार्यालयले गरिदिने वडाध्यक्ष अर्जुन कार्कीले बताए। 'खेर गएको बाँस र जराबाट निर्माण गरिएका सामग्रीको बजारीकरण हामी गरिदिने छौँ', उनले भने, 'यहाँका महिला यही पेसामार्फत स्वरोजगार बन्दै आत्मनिर्भर बन्न सक्नुहुन्छ।'

उनले दैनिक भारतबाट हुल बाँधेर आउने जंगली हात्तीले अन्नबाली नष्ट गर्न थालेपछि निराश बनेकाहरूका लागि हस्तकला निर्माणसम्बन्धी तालिम आम्दानीको स्रोत हुनेसक्ने बताए।

बाँसको जराबाट हात्ती, चराचुरुंगी, महिलाले प्रयोग गर्ने गरगहना र घरेलु सामग्री निर्माण गर्न सकिने वडाध्यक्ष कार्कीले उल्लेख गरे। उनले वडाले गर्ने हरेक कार्यक्रममा अतिथिलाई ‘मायाको चिनो’ स्वरुप महिलाद्वारा निर्मित हस्तकलाका सामग्री खरिद गरेर वितरण गर्न थालिएको जानकारी दिए।

महिलालाई हस्तकला विज्ञ निर्मल शाक्य र शेखले तीन महिनासम्म प्रशिक्षण दिएका थिए। प्रशिक्षक शाक्यले छोटो समयमा महिलाले सीप सिकेर गुणस्तरीय सामग्री निर्माणमा जुटेका बताए। उनले स्थानीय क्षेत्रमा बाँसको उत्पादन प्रशस्त हुने हुँदा कच्चा पदार्थको अभाव नहुने बताउँदै स्थानीय सरकारले बजारीकरणमा थप समन्वय गर्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२१६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend