लमजुङ- तनहुँ-लमजुङ जोड्ने मुख्य डुम्रे-बेँसीसहर सडकखण्डको लमजुङतर्फ विभिन्न चार ठाउँमा स्याब कल्भर्ट ढलान निर्माण सम्पन्न भएको छ। संघीय सरकारको लगानीमा भोटेओडार, गैरी, भकुण्डे, दलाल निरको खहरेखोलामा स्याब कल्भर्ट निर्माण कार्य सम्पन्न भएको हो।
डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी नविन विष्टका अनुसार सो स्थानमा गत आवको अन्तिमतिर स्याब कल्भर्ट निर्माण भएसँगै यतिबेला वर्खायाममा सवारीसाधन सहज रुपमा सञ्चालन हुँदै आएको छ।
विषेशगरी वर्षायाममा खहरेखोलाले सवारीसाधन सञ्चालनमा बाधा पुर्याउँदै खरहेखोला बढेका बेलामा सवारीसाधन रोकिनुपर्ने अवस्थाको अत्न्य भएको छ। उक्त स्याब कल्भर्टमध्ये भोटेओडार स्याब कल्भर्ट सगरमाथा बोइरिङ कन्टक्सन कम्पनीले भोटेओडारमा रु ६९ लाख ९७ हजारमा निर्माण सम्पन्न भएको छ।
विसं २०७९ फागुन १४ गते सम्झौता गरेको यस कम्पनीले यहाँ गत आर्थिक वर्षको असारभित्रमा काम सम्पन्न गर्नुपर्ने समय रहेको र सोही समयावधिमै सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ। स्याब कल्भर्टको चौडाइ १० र लम्बाइ छ मिटर रहेको छ। त्यस्तै गैरीखोला र खहरेखोलामा सगरमाथा बोइरिङ कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले एउटै ठेक्कामा स्याब कल्भर्ट निर्माण सम्पन्न गरेको छ।
दुवै स्याब कल्भर्ट समान सात मिटर लम्बाई र १० मिटर चौडाइ रहेको छ। सो निर्माण सम्पन्न गर्न कम्पनीले एक करोड २९ लाख रूपैयाँमा सम्झौता गरेको थियो। विसं २०७९ फागुन १४ गते दुई स्थानको काम सम्पन्न गर्ने सम्झौता भएको थियो। समयभित्रमा काम सम्पन्न नभएपछि पुनःम्याद थप गरी सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ।
त्यस्तै, बेँसीसहर नगरपालिका वडा नं १ गाईखुरे झरना नजिकै खोल्सामा तीन मिटर उचाइ, चार मिटर लम्बाइ र १० मिटर चौडाइको स्याब कल्भर्ट निर्माण सम्पन्न भएको छ। सिद्धिविनायक निर्माण सेवा कम्पनीले यससँगै रानीकुवामा स्याब कल्भर्ट निर्माण गर्नेलगायत कामका लागि एक करोड १५ लाख रूपैयाँमा जिम्मा लिएर सम्पन्न गरेको छ।
यस डुम्रे-बेँसीसहर सडकको विभिन्न स्थानमा खहरेखोला रहेको र सो स्थानमा आवश्यक कल्भर्ट नहुँदा बर्सेनि बर्खायाममा खहरेखोला उर्लिने गर्दा दैनिकजसो सडक अवरुद्ध हुने गरेको थियो। बेँसीसहरदेखि काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा सवारीसाधन जाने गर्दछन् भने सो स्थानबाट लमजुङ बेँसीसहर आउने गर्दछन्।
साथै हिमाली जिल्ला मनाङसमेत जाने यही मार्ग पर्दछ। छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस विसं २०४६ मा ट्र्याक खुलेसँगै सवारीसाधन सञ्चालनमा आएयता खहरेखोलाले सवारीसाधन बर्खामा अवरुद्ध बनाउँदै आएको थियो। करिब ४२ किलोमिटर रहेको डुम्रे-बेँसीसहर सडक आर्थिक वर्ष २०५४/५५ मा कालोपत्र सम्पन्न गरिएको थियो। करिब २४ किलोमिटर लमजुङतर्फको भागमा यो सडक पर्दछ। रासस