सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल

आइतबार, साउन ४ २०८२
गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल

स्थानीय व्यवसायीहरु सञ्जीव लामाले मूलखर्क स्याउ फार्ममा ४०० र भीम तामाङले नब्लु स्याउ फार्ममा ४०० वटा बिरुवा रोपेका थिए।

गोरखा- अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउखेतीको परीक्षण सफल भएको छ। वडा नं २ को मूलखर्क र नब्लुका दुई वटा स्याउ फार्ममा तीन वर्षअघि परीक्षणका रुपमा लगाइएको स्याउले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको व्यवसायीले बताएका छन्।

बिरुवामा ५० प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अजिरकोट वडा नं २ मा समुन्द्रदेखि २२०० मिटर उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा लगाइएको स्याउका बोटमा यस वर्ष फल लागेका छन्। स्थानीय व्यवसायीहरु सञ्जीव लामाले मूलखर्क स्याउ फार्ममा ४०० र भीम तामाङले नब्लु स्याउ फार्ममा ४०० वटा बिरुवा रोपेका थिए।

दुवै फार्ममा लगाइएको स्याउका बोटमा एक हजारदेखि एक हजार ५०० केजीसम्म फल फलेको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताए।पालिकाको वडा नं १ र २ स्याउखेतीका लागि उपयोगी रहेको उनले जानकारी दिए। 

'तीन वर्षअघि परीक्षणका रुपमा लगाएको अहिले दुवै फार्ममा लटरम्मै स्याउको दाना फलेका छन्, यसलाई परीक्षण सफल भएको मानेका छौँ', उनले भने, 'परीक्षण सफल भएसँगै व्यावसायिक स्याउखेतीको क्षेत्र विस्तार गर्ने योजना पालिकाको छ।'

गाउँपालिकाले २०७९ सालमा परीक्षणका रुपमा स्याउका बिरुवा रोपेको व्यवसायी सञ्जीव लामाले बताए। 'इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रुपमा लगाइएको थियो, त्यसमा पालिकाले ५० प्रतिशत अनुदान दिएको थियो', उनले भने, 'गत वर्ष पनि फक लागेको थियो, पहिलो वर्षको भएकाले टिपेर फ्याँक्यौँ। यस वर्षको उत्पादन बजार पुर्‍याउने योजना छ।'

पालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा व्यावसायिक स्याउखेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। आगामी  वर्ष पाँच हजार स्याउका बिरुवा किसानलाई वितरण गर्ने लक्ष्य गाउँपालिकाको रहेको कृषि शाखा प्रमुख शम्भु थापाले बताए।

वडा नं १ र २ मा खेती विस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने योजना रहेको पालिका अध्यक्ष दीपक देवकोटा बताउँछन्। स्याउखेतीलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend