सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सूर्य नेपाल प्रालिको आम्दानीमा गिरावट, चुरोटमा अत्यधिक निर्भरता जोखिमपूर्ण

आइतबार, साउन ४ २०८२
सूर्य नेपाल प्रालिको आम्दानीमा गिरावट, चुरोटमा अत्यधिक निर्भरता जोखिमपूर्ण

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आय २८ अर्ब ९९ करोड रुपैयाँ थियो भने २०८०/८१ मा त्यो घटेर २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँमा झरेको छ।

काठमाडौं- नेपालको अग्रणी चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रालिको वार्षिक सञ्चालन आय आर्थिक वर्ष २०८०/८१ मा सामान्य रूपमा घटेको छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको सञ्चालन आय अघिल्लो वर्षको तुलनामा करिब १७ करोड रुपैयाँले घटेको हो।

सूर्य नेपालको बजार पकड, ब्रान्ड शक्ति र अन्तर्राष्ट्रिय साझेदार रहेतापनि तर अत्यधिक चुरोटकेन्द्रित व्यापार मोडेल दीर्घकालीन दिगोपनका दृष्टिले कमजोर देखिएको छ। बजार विविधिकरण, उत्पादन नवप्रवर्तन र वैध वैकल्पिक उत्पादनतर्फ ध्यान दिन नसकेमा कम्पनीको भविष्य नाफामूलक भए पनि अस्थिर बन्न सक्ने जोखिम केयर रेटिङले औँल्याएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आय २८ अर्ब ९९ करोड रुपैयाँ थियो भने २०८०/८१ मा त्यो घटेर २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँमा झरेको छ। यो गिरावट केही हदसम्म व्यवसायिक एकांगिता र चुरोट कारोबारमा करको निरन्तर बढ्दो भारसँग सम्बन्धित रहेको रेटिङ एजेन्सीको मूल्यांकन छ।

सन् १९८६ देखि सञ्चालनमा रहेको सूर्य नेपालमा भारतको विशाल कम्पनी आइसिटी लिमिटेडको ५९ प्रतिशत स्वामित्व रहेको छ। करिब ३९ प्रतिशत सेयर नेपाली संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको नाममा रहेको छ। भने बाँकी २ प्रतिशत ब्रिटिश अमेरिकन टोबाकोको स्वामित्वमा रहेको छ।

आइसिटी लिमिटेडको बहुक्षेत्रीय अनुभव  चुरोट, प्याकेज खाद्य सामग्री, पेपरबोर्ड, होटेल, शिक्षा र कृषिले सूर्य नेपाललाई प्रतिस्पर्धात्मक लाभ दिएको छ। कम्पनीको उत्पादन सञ्जालमा सूर्य लेजेन्ड, शिखर, खुकुरी, पाइलट, बिजुलीजस्ता चुरोट ब्रान्डहरू प्रमुख छन्, जसले बजारमा बलियो ब्रान्ड इक्विटी बनाएको छ।

नेपालभर फैलिएको वितरण सञ्जाल, आधुनिक उत्पादन उपकरण र व्यवस्थापन संरचनाको बलमा कम्पनीले विगत तीन दशकदेखि बजारमा अग्रणी भूमिका निभाइरहेको केयर रेटिङले उल्लेख गरेको छ।

यद्यपि कम्पनीको आम्दानीको ठूलो हिस्सा चुरोट विक्रीमै निर्भर रहेकोले दीर्घकालीन जोखिम बढेको केयर रेटिङको विश्लेषण छ। गैरचुरोट कारोबार (जस्तै अगरबत्ती, प्याकेज खाद्य सामग्री) को योगदान अत्यन्त न्यून रहेको र विविधिकरणको गति सुस्त देखिएको प्रतिवेदनले औंल्याएको छ।

त्यसमाथि, चुरोटमा करको भार वर्षेनी बढिरहेको र सरकारले उपभोग घटाउने उद्देश्यले मूल्य महँगो बनाइरहेको सन्दर्भमा ग्राहकहरूको खपत घट्दै गएको छ। कानूनी रूपमा बिक्री हुने चुरोटभन्दा कम मूल्यका अवैध विकल्पतर्फ (जस्तै, खैनी, गुट्का) प्रयोगकर्ता आकर्षित भइरहेकाले कम्पनीको आम्दानीमा थप दबाब पर्ने जोखिम देखिएको हो।


प्रकाशित : आइतबार, साउन ४ २०८२०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend