सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

देशभर मनसुनी वायुको प्रभाव, पहाडी र उच्च हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना

आइतबार, साउन ४ २०८२
देशभर मनसुनी वायुको प्रभाव, पहाडी र उच्च हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना

नसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतिर सरेको हुँदा विशेषगरी पूर्वी नेपालबाट मनसुन पुनः सक्रिय भएको मौसमविद्हरूले बताएका छन्।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतिर सरेको हुँदा विशेषगरी पूर्वी नेपालबाट मनसुन पुनः सक्रिय भएको मौसमविद्हरूले बताएका छन्।

महाशाखाका अनुसार केही दिन निष्क्रियजस्तो देखिएको मनसुन पूर्वी भूभाग हुँदै पुनः सक्रिय भएको हो। शनिबार रातिदेखि आइतबार बिहानसम्म चुरे तथा पहाडी क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

शनिबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। आइतबार बिहान र दिउँसो काठमाडौं उपत्यकालगायत बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाउँदै पहिरो तथा बाढीको जोखिम रहेको जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि औंल्याइएको छ।

विभागले नदी किनार तथा पहाडी क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै, अत्यावश्यक नपरेसम्म यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र सूचना अपडेट गर्न पनि अनुरोध गरेको छ।

देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र अन्य केही भागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा पनि हुनसक्ने विभागले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend