सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

कैलाली भन्सारले एक वर्षको अवधिमा उठायो ८ अर्ब ६६ करोड राजस्व

शुक्रबार, साउन २ २०८२
कैलाली भन्सारले एक वर्षको अवधिमा उठायो ८ अर्ब ६६ करोड राजस्व

भन्सार महसुलतर्फ ३ अर्ब २३ करोड, मूल्य अभिवृद्धि करतर्फ ३ अर्ब २३ करोड र अन्तःशुल्कतर्फ २१ करोड ४४ लाख राजस्व संकलन भएको छ।

अत्तरिया- कैलाली भन्सार कार्यालय धनगढीले ८ अर्ब ६६ करोड ९८ लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व संकलन गरेको हो।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख रूपैयाँ अर्थात् ७७ दशमलव ६७ प्रतिशतमात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए।

उनका अनुसार भन्सार महसुलतर्फ तीन अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कतर्फ २१ करोड ४४ लाख र अन्यतर्फ एक अर्ब ९८ करोड ३९ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

सूचना अधिकारी अर्यालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख, कात्तिकमा ६२ करोड ७८ लाख, मङ्सिरमा ८१ करोड १३ लाख र पुसमा ६५ करोड ८७ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, माघमा ७३ करोड दुई लाख, फागुनमा ७२ करोड ७६ लाख, चैतमा  ७८ करोड १४ लाख, बैशाखमा ८१ करोड ८० लाख, जेठमा ८७ करोड १३ लाख र असारमा ८५ करोड ६९ लाख राजस्व संकलन भएको उनले जानकारी दिए।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन। अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य रहेकामा सात अर्ब ९१ करोड ८० लाख रूपैयाँमात्रै राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशतमात्रै थियो। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend