सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

पर्यटकीय स्थानमा फोटो तथा भिडियोका लागि जातीय पोसाक उपलब्ध गराएर आम्दानी

शुक्रबार, साउन २ २०८२
पर्यटकीय स्थानमा फोटो तथा भिडियोका लागि जातीय पोसाक उपलब्ध गराएर आम्दानी

धनगढीको देवरियास्थित वनस्पति उद्यानमा हाल आन्तरिकका साथै बाह्य पर्यटकसमेत आउने गरेका छन्।

कैलाली- वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ। प्राकृतिक हराभरा, तालतलैया, विभिन्न प्रजातिका जडीबुटीको उत्पादनलगायत मनोरमणीय दृष्टिकोण उक्त उद्यान निकै प्रख्यात मानिन्छ।

उद्यानमा घुमघाम, रमाइलोका लागि दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन्। प्रायः गरेर यहाँका विभिन्न जातीय पहिचान झल्कने पोसाक लगाएर तस्बिर लिने पर्यटकको रोजाइमा पर्ने गर्दछ। उद्यानमा सोही पोसाक लगाएर फोटो खिचाउने पर्यटकबाट लिने शुल्कबाट स्थानीय रञ्जिता चौधरीले आम्दानी गर्दै आएकी छिन्।

चौधरीको पसलमा राना थारु, डगौँरा थारु, नेवार, ठकुरी, क्षेत्री, मगर, शेर्पा, तामाङलगायत करिब ३० जातिका विभिन्न संस्कृति झल्किले पोसाक फोटो खिच्नका लागि उपलब्ध छन्। वनस्पति उद्यानमा फोटो खिचाएको उनले प्रतिघण्टाको १०० रूपैयाँ शुल्क लिने गरेकी छिन्।

'एक घण्टाको १०० रूपैयाँ र समय थपसँगै शुल्क पनि थप लिने गरेको छु', उनले भनिन्, 'त्यसबाट महिनाको सबै खर्च कटाएर ३० हजार रूपैयाँजति बचत हुने गरेको छ, सरकारी बिदा अर्थात् चाडपर्वका बेला अझै बढी कमाइ हुने गर्दछ।'

उनलाई जातीय पोसाक सिलाउनमा चार लाख रूपैयाँजति लगानी लागेको छ। एक जोर पोसाक सिलाउन पाँच हजार रूपैयाँजति खर्च हुने गरेको उनको भनाइ छ। परिवारमा सासू, ससुरा, श्रीमान्, श्रीमती र छोरोछोरी गरी ६ जना छन्। छोराछोरीको शिक्षाका साथै परिवारको सम्पूर्ण खर्च सोही व्यवसायले धान्दै आएको उनले बताइन्।

विगतमा आर्थिक अवस्था निकै नै कमजोर रहेकी चौधरीले अहिले यो व्यवसाय अगाँल्दै आएपछि जीवनस्तरसमेत सुध्रिएको बताइन्।

धनगढीको देवरियास्थित वनस्पति उद्यानमा हाल आन्तरिकका साथै बाह्य पर्यटकसमेत आउने गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend