मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

रोपाइँको समय घर्किँदै गएको बेला पानी परेपछि किसानलाई राहत

बिहीबार , साउन १ २०८२
रोपाइँको समय घर्किँदै गएको बेला पानी परेपछि किसानलाई राहत

पानी नपरेपछि रोपिसकेका धानको रोपोसमेत सुकेर चिरा परेको थियो। तीन दिनदेखिको वर्षाका कारण थोरै भएपनि राहत महसुस भएको उराँवले बताए।

सुनसरी- असार अन्तिमदेखि पानी पर्न थालेपछि सुनसरीका किसानले राहत महसुस गरेका छन्। धान रोपाइँ गर्ने बेला घर्किनै लाग्दासमेत पानी नपरेपछि भोक्राहा नरसिंह गाउँपालिका-४ का सुरेन्द्र उराँवले  बोरिङ गरेको पानी तानेर धान रोपेका थिए।

पानी नपरेपछि रोपिसकेका धानको रोपोसमेत सुकेर चिरा परेको थियो। तीन दिनदेखिको वर्षाका कारण थोरै भएपनि राहत महसुस भएको उराँवले बताए।

समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धानको ब्याड र रोपोसमेत सुक्न थालेको बेला परेको पानीले धानखेती गर्ने किसानलाई राहत मिलेको स्थानीय विनोद मेहताले बताउँछन्।

गत सोमबारदेखि बुधबारसम्म लगातार वर्षा भएपछि धान रोपाइँ गर्न सहज भएको उनको भनाइ छ। आकाशे पानीको भरमा खेती गर्दै आएका भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज इनरुवालगायतका क्षेत्रका कृषकले रोपेको धानको रोपो फेरी हरियो फर्किन थालेको स्थानीय सञ्जय मेहताले बताए।

आकाशे पानीको भरमा रहेका किसानलाई यही अवस्था रहिरहेमा धानबाली गुम्ने खतरा थियो। जिल्लामा हाल ४८ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन १ २०८२१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend