मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

आन्तरिक राजस्व कार्यालय भरतपुरले एक वर्षमा उठायो २५ अर्बभन्दा बढी राजस्व

बिहीबार , साउन १ २०८२
आन्तरिक राजस्व कार्यालय भरतपुरले एक वर्षमा उठायो २५ अर्बभन्दा बढी राजस्व

कार्यालयले गत आर्थिक वर्षमा सुरुवाती समयदेखि साना तथा ठूला सबै करदाताको विवरण अध्ययन गरी आवश्यक राजस्व संकलनमा जोड दिएको जनाएको छ।

चितवन- आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०/८१ को भन्दा आव २०८१/८२ मा चार अर्ब ५२ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। अघिल्लो आवमा २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार राजस्व संकलन भएकामा गत आवमा २५ अर्ब नौ करोड सात लाख ३२ हजार रूपैयाँ संकलन भएको हो।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ९४ दशमलव ८९ प्रतिशत राजस्व संकलन भएको छ।

अघिल्लो आवमा लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत मात्रै संकलन भएको थियो। आव २०७९/८० मा लक्ष्यको ७७ दशमलव ९४ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिए।

कार्यालयले गत आर्थिक वर्षमा सुरुवाती समयदेखि साना तथा ठूला सबै करदाताको विवरण अध्ययन गरी आवश्यक राजस्व संकलनमा जोड दिएको जनाएको छ। कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले कर नतिर्ने करदातालाई घरघरमा पत्राचार गरेर करसंकलन अभियानलाई तीव्रता दिइएको बताए।

कार्यालयले करदातालाई टेलिफोन गरेर कार्यालयमा बोलाएर राजस्व तिर्न प्रोत्साहन गरेको थियो। उद्योग वाणिज्यसँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरेर करशिक्षा कार्यक्रमसमेत आयोजना गरिएको उनको भनाइ छ।

कर नतिर्ने करदातालाई कालोसूचीमा राख्ने काम गरिएको बताउँदै प्रमुख खड्काले कोभिडपछि कार्यालयले आव २०८१/८२ मा सबैभन्दा बढी राजस्व संकलन भएको जानकारी दिए। सूचना अधिकारी पौडेलले निरन्तर मेहनत गरेकाले राजस्व बढाउन सकिएको बताउँदै लक्ष्यमा पुग्न अझै नसकिएको उल्लेख गरे। रासस


प्रकाशित : बिहीबार , साउन १ २०८२१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend