मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

वैदेशिक रोजगारीमा जानेको संख्यामा कीर्तिमान, एक वर्षमै बाहिरिए ८ लाख ३८ हजारभन्दा बढी

बिहीबार , साउन १ २०८२
वैदेशिक रोजगारीमा जानेको संख्यामा कीर्तिमान, एक वर्षमै बाहिरिए ८ लाख ३८ हजारभन्दा बढी

मुलुकको जनसांख्यिक संरचनामा कामका लागि योग्य र अवसरको खोजी गर्नेको संख्या बढ्दै जाने अर्कोतिर आर्थिक गतिविधि सुस्त हुँदै जाँदा वैदेशिक रोजगारी कतिपयका लागि बाध्यता पनि बन्दै गएको छ।

काठमाडौं- कुनै पनि मुलुकले आफ्नो इतिहासमा एकपटकमात्र पाउने जनसांख्यिक लाभको अवस्थामा रहेको नेपालले पर्याप्त रोजगारी र अवसर सिर्जना गर्न सकेको छैन।

राष्ट्रिय तथ्यांक कार्यालयकै पछिल्लो प्रतिवेदनअनुसार कामका लागि उपलब्ध संख्या बढी भएपनि सोहीअनुसार मुलुकमा रोजगारी सिर्जना नभएको र त्यसका लागि आवश्यक तयारी पनि नरहेको पाइएको छ।  

यस्तो अवस्थामा अधिकांश युवाहरूले रोजागरीका लागि विदेशी भूमिमा गइरहेका छन्। पछिल्लो दुई दशकदेखि नेपाली युवाहरूको आकर्षण विदेशमा बढिरहेको छ। कोभिड महामारीपछिको आर्थिक शिथिलताले सामान्य रुपमा भइरहेका आर्थिक गतिविधि पनि सुस्त भएपछि कामका लागि विदेशिने युवाहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ।

मुलुकको जनसांख्यिक संरचनामा कामका लागि योग्य र अवसरको खोजी गर्नेको संख्या बढ्दै जाने अर्कोतिर आर्थिक गतिविधि सुस्त हुँदै जाँदा वैदेशिक रोजगारी कतिपयका लागि बाध्यता पनि बन्दै गएको छ। 

हरेक वर्ष श्रम बजारमा निस्कने युवाले नेपालमै रोजगारी पाउन सकेका छैनन्। रोजगारीको अवसर सिर्जना हुने गरी न त राज्यले नीतिगत काम गर्न सकेको छ न त नीजी क्षेत्रबाट नै लगानी विस्तार हुन सकेको छ। लगानी विस्तार नहुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ।

नयाँ उद्योगमा लगानी प्रतिवद्धता बढ्न सकेको छैन। जसको प्रत्यक्ष असर युवामा परेको छ। देशमै पर्याप्त रोजगारी नपाउँदा युवाका लागि वैदेशिक रोजगारी बाध्यकारी जस्तै भएको छ। वैदेशिक रोजगारीकै लागि बाहिरिनेकि संख्या बढ्दो छ।

 वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ८ लाख ३८ हजार ६ सय ८६ पुगेको छ।  जुन संख्या हालसम्मकै सबैभन्दा बढी हो। यसअघि सबैभन्दा बढी आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ७ लाख ७१ हजार ३ सय ३१ रहेको थियो। आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ७ लाख ४१ हजार २ सय ९६ जना रहेका थिए।


प्रकाशित : बिहीबार , साउन १ २०८२०६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend