मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अर्थतन्त्रको विस्तारमा निजी क्षेत्रले गरिरहेको काममा सरकारको सहयोग पाएका छौँ : चन्द्र ढकाल

बुधबार, असार ३२ २०८२
अर्थतन्त्रको विस्तारमा निजी क्षेत्रले गरिरहेको काममा सरकारको सहयोग पाएका छौँ : चन्द्र ढकाल

'हामीले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाएका छौँ। यसले निजी क्षेत्रलाई धेरै नै उत्साहित बनाउने हुँदा कार्यान्वयनका लागि अनुरोध गर्दछु।'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र त्यसमा सरकारको सहयोग रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।

महत्वपूर्ण व्यावसायिक व्यक्तित्व सम्मान कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले आफूहरूले नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकोले बताउँदै सुझावहरू सरकारसमक्ष पेश गरेको र त्यसलाई सरकारले आत्मसात गरेको मात्र नभइ बजेट र मौद्रिक नीतिमा समावेश पनि गरेको बताएका छन्। 

'हामीले लगानी सम्बद्ध कानूनहरुमा समस्या रहेको विषय उठायौँ। सरकारले कानूनमा संशोधन गर्यो। द्धिपक्षीय लगानी प्रवर्द्धनका लागि सम्झौता आवश्यक भनौँ। त्यसको सरकारले खाका तयार पारेको छ। अब इच्छुक देशहरुसँग सम्झौता गर्नुपर्छ' उनले भने। 

व्यावसायिक व्यक्तित्व सम्मान गरिएको विषयमा बोल्दै उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार यसरी सम्मानित हुने व्यक्तिहरुलाई सरकार र समाजले निकै महत्व दिने गरेको बताए। 'विदेशमा सरकारका सबै मन्त्रालयहरुले यसको महत्व आत्मसात गरेका हुन्छन्। विमानस्थलमा विशेष प्रवेश र भीआईपी लाउन्जको सुविधा हुन्छ। राष्ट्रिय विमान सेवाहरुमा सेवा अपग्रेड र चेकइन लगायतका द्रुत सेवा उपलब्ध हुन्छन्। नेपालमा पनि सीआईपी लाउन्ज नबनेसम्म भीआईपी लाउन्जको सुविधा दिनु उपयुक्त हुन्छ' उनले भने।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र त्यसले अर्थतन्त्रको मुहार र आकार नै फेर्नसक्ने सम्भावना आज सम्मानित हुने व्यक्तित्व र संस्थाबाट नै पनि हेर्न सकिने उनले बताए। 

'आजको नारा जस्तै निजी क्षेत्रको सम्मान, समृद्धिको आधार हो। हामीले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाएका छौँ। यसले निजी क्षेत्रलाई धेरै नै उत्साहित बनाउने हुँदा कार्यान्वयनका लागि पुनः विनम्र अनुरोध गर्दछु' उनले भने।

'अन्य संघसंस्थाहरुसँगै महासंघका वस्तुगत संघहरु तथा एसोसिएट सदस्यहरु सम्मानित भएका छन्। उहाँहरुको योगदान र सहयोग नेपाल उद्योग वाणिज्य महासंघ र सरकारका लागि प्रसंशनीय छ' ढकालले भने।

'सम्भावना हेर्दा निर्यात वार्षिक करिब १० खर्ब पुर्‍याउन सकिन्छ। कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलब २ प्रतिशतमात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्‍याउन सकिन्छ। अहिले हाम्रो विदेशी विनियम सञ्चिति एकदमै राम्रो छ' उनले भने।


प्रकाशित : बुधबार, असार ३२ २०८२१८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend