मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नवनिर्वाचित सीएनआई पदाधिकारी र अर्थमन्त्रीबीच छलफल

बुधबार, असार ३२ २०८२
नवनिर्वाचित सीएनआई पदाधिकारी र अर्थमन्त्रीबीच छलफल

अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजस्वमा परेको भन्दै अर्थमन्त्री विष्णु पौडेलले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए।

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारी र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन्।

परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए।

उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताए।

१०० अर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अंकको आर्थिक वृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारीसमेत उनले गराए। अध्यक्ष पाण्डेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन आग्रह गरे।

सो अवसरमा अर्थमन्त्री पौडेलले नवनिर्वाचित समितिलाई बधाई दिँदै परिसंघले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको बताए। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई सरकारले अपनत्व लिएको र कार्यान्वयन प्रक्रियामा लगिसकेको बताए।

चरणबद्धरुपमा अगाडि बढाउनुपर्ने सुझावहरुलाई सोहीअनुरुप अगाडि बढाइने अर्थमन्त्री पौडेलले बताए। अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजस्वमा परेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए।

मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ सालको बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे।

अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए।  


प्रकाशित : बुधबार, असार ३२ २०८२१७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend