मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

मादी नदी पुलको काम ७१ प्रतिशत सकियो

बुधबार, असार ३२ २०८२
मादी नदी पुलको काम ७१ प्रतिशत सकियो

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ।

तनहुँ- मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदीमाथिको पुल ७१ प्रतिशत सम्पन्न भएको छ। व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदी पुलको काम तीव्र गतिमा भइरहेको हो।

पुल निर्माण तीव्रगतिमा प्रभावकारीरूपमा भइरहेको मुग्लिन-पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

'उक्त पुलमा ६ वटा स्पान हुनेछ। तीनसय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो', उनले भने।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दुरीमा नयाँ पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए।

'मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ। आँबुखैरेनी-जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्र सकिएको छ', उनले भने।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा लागेको छ।

पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ। केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताए। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend