मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

११ र १२ कक्षाका लागि काठमाडौं महानगरको छात्रवृत्ति : विज्ञान विषयमा आवेदन दिने धेरै

बुधबार, असार ३२ २०८२
११ र १२ कक्षाका लागि काठमाडौं महानगरको छात्रवृत्ति : विज्ञान विषयमा आवेदन दिने धेरै

छात्रवृत्ति परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंक (नेगेटिभ मार्किङ) नगरिने पनि महानगरले जनाएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकामा शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न कुल १७ हजार २ सय २९ विद्यार्थीले आवेदन दिएका छन्।   

महानगर शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन देशभरका ७७ वटै जिल्लाबाट परेका छन्। 

आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा सबैभन्दा बढी १२ हजार ३ सय ३७, व्यवस्थापन विषयमा चार हजार ४ सय ८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १ सय ४ र कानून विषयमा २ सय ७३ जना छन्। 

शिक्षा अधिकृत पौडेलका अनुसार हाल प्राप्त आवेदनको रुजु कार्य भइरहेको र यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न गरिने छ। आवश्यक प्रक्रिया पूरा भएपछि साउन १ गतेदेखि विद्यार्थीले अनलाइनमार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्ने छन्। 

साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुनेछ। कक्षा १० को पाठ्यक्रममा आधारित रहेर हुने परीक्षामा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिने गरी निर्धारण गरिएको छ। सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन्। 

परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंक (नेगेटिभ मार्किङ) नगरिने पनि महानगरले जनाएको छ।  

परीक्षापछि योग्यता सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ। त्यस आधारमा विद्यार्थीले शिक्षण संस्थामा अध्ययन गर्न पाउनेछन्। 


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend